बुंगमतीका काष्ठशिल्पी राजभाइ शाक्यले केही दिनअघि फोन गरे।
रातो मच्छिन्द्रनाथ जात्रा सकिएर करुणामय बुंगमती फर्केकोमा उनी प्रसन्न सुनिन्थे।
‘अनि नयाँ काम के तयार भयो त?’ मैले सोधेँ।
उनले खासै केही नभएको जवाफ दिए। कारण सोध्दा भने, 'यसपालि पानेजु पालो भिनाजुको थियो। उहाँलाई सहयोग गर्दा गर्दै काममा समय दिनै पाएको छैन।'
राजभाइका भिनाजु माणिकराज शाक्य रातो मच्छिन्द्रनाथका ३१ पुजारीमध्ये एक हुन्। रथमा देउता कुर्ने जिम्मेवारी उनलाई हरेक १६ वर्षमा आउँछ।
राजभाइसहित पुजारी पालो पर्नेलाई सहयोग गर्न आफन्त र कुटुम्बका सयौं परिवार हुन्छन्।
'एक्लैले गर्न सक्ने कुरै भएन,' राजभाइ थप्छन्।
'त्यसो भए काममा निकै डिस्टर्ब भयो होला?' मैले सोधेँ।
'हाम्रो काम भनेकै खेती-किसानी। आ-आफ्नो व्यावसायिक कलाकर्म त छँदैछ, सामाजिक चाडपर्वहरूमा एकअर्कालाई सहयोग पनि गर्नुपर्छ,' उनले मलाई सम्झाए, 'यो हाम्रो परम्परागत, पुर्खौली दायित्व हो। यसलाई काममा डिस्टर्ब भयो भनेर लिँदैनौं।'
राजभाइ एक प्रतिनिधि पात्र हुन्, काठमाडौं उपत्यकामा शताब्दियौंदेखि चलिआएको चाडपर्व र जात्रा निरन्तर कायम राख्न योगदान पुर्याउने। न उनलाई जात्राबाट प्रत्यक्ष फाइदा छ, न त आर्थिक लाभ।
उनी त माथि भनेझैं, यसलाई आफ्नो परम्परागत र पुर्खौली दायित्व मान्छन्।