कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’
किनकी त्यो वर्ष अनपेक्षित रुपमा उनी सिद्धिबिनायक बोर्डिङ स्कूलबाट नयाँ विद्यालय जानुपरेको थियो। नयाँ परिवेशले उनलाई तर्साएको थियो जिरिङ्ग हुने गरी। के गर्ने होला, कसो गर्ने होला? भन्दा भन्दै स्कूलको गाडी आयो। चढेर गए। बाटोमा जाँदै गर्दा नयाँ स्कूल कस्तो होला? भन्ने कौतुहलता थियो साथै नयाँ उमंग पनि।
घुरुरु गुडेर स्कूलको गेट भित्र गाडी छिर्यो।
अर्जुन भण्डारी त्यो गेटभित्र छिर्नासाथ अघि गरिएका सबै कल्पना गलत साबित भए। भारी भएको मन एकाएक हलुका भएर आयो, चंगा जस्तै। नयाँ स्कूल नेपाल आदर्शमा त ठूला ठूला स्वीमिङ्ग पुल रहेछन्। कहिँ कम्मरसम्म आउने कहि घाँटीसम्म, कहिँ कहिँ त चुर्लुम्मै डुबाउने पानीका निला रंगीन पोखरी। कुनै कुनैमा चिप्लेटी खेल्दै सुलुलु बगेर पानीमा चोपलिन पाइने, अग्लो ठाउँबाट डाइभ हान्न पाइने। आहा ! भण्डारीको मन त्यसै त्यसै फुरुङ्ग भए।
नयाँ स्कूल जानुभन्दा अघि घर नजिकैको बहदी खोलामा धेरैपल्ट चोपलिएको अनुभव ताजै छ, अब त स्कूलमा नै पौडी खेलाउने भए। बच्चाहरुको मन न हो, पानी देखेपछि चलाउन मन लागिहाल्ने। भण्डारी सम्झन्छन्, ‘घरबाट ढाँटी ढाँटी जान्थे। बाढी आउने बेलामा पनि बहदी खोलाको धमिलो पानीलाई छोडिएन। शनिबार घरमा नभनी जाँदा कम्ता चुटाइ खाइएन।’ नेपाल आदर्शमा शुक्रबारसधैँ पौडी खेलाउँथे।