बुवा सरकारी जागिरे भएकाले सरुवा भइरहन्थे । कहिले गण्डकी अञ्चल, कहिले बाग्मती त कहिले कहाँ–कहाँ, ठेगानै नहुने । ०२७ सालमा सरुवा भएर बन्दीपुर पुगे । हरि (लम्साल)को पढाइ काठमाडौंमै थियो । सँगै गए पढाइ रोकिने, नगए हातमुख जोड्न समस्या ।
काठमाडौंमा एक्लै बस्ने भए काम गर्नु पथ्र्यो । गर्ने के ? साथी को थिए, अहिले हरिलाई त्यति याद छैन तर उनीहरुले ‘निर्मल’ साप्ताहिकका सम्पादक तथा प्रकाशक विश्वनाथ उपाध्यायलाई चिनेका रहेछन् । उनीहरूले भने, “जाऊँ एकपटक विश्वनाथ उपाध्यायलाई भेटौं । काम दिई पो हाल्छन् कि ?”
विश्वनाथसँग लामै गफ चल्यो । पढेलेखेका र साहित्यमा पनि कलम कुदाउने हरिलाई विश्वनाथले विश्वास गरे । भने, “ल भोलिबाट आउनू । म एउटा टपिक दिन्छु । त्यसमा समाचार लेख्नुस् । अनि कम्पोज गरौंला ।”
भोलिपल्ट ०२७ सालको माघ १ गते थियो । ओमबहालमा ‘निर्मल’ साप्ताहिकको कार्यालय थियो । हरिले जागिर शुरु गरे । पहिलो दिन विश्वनाथले शिक्षासम्बन्धी तीनवटा र एउटा सामाजिक विषय दिए । अहिलेजस्तो टेलिफोन सेवा सहजै उपलब्ध थिएन । भेटेरै सूचना लिनुपथ्र्यो । त्यसै गरे । पहिलो रिपोर्टिङको नै समाचार छापियो ।
विश्वनाथसँग उनले दुई वर्ष काम गरे । पत्रकारिताको बाह्रखरी त्यहीँ सिके । ०२७ सालमा उनको तलब एक सय रुपैयाँ थियो । १० रुपैयाँ कोठा भाडा थियो । खान र बस्नको समस्या ट¥यो ।