सभन्याँ ब्लँ– फ्रान्स र स्वीट्जरल्याण्डको सीमा नजिकै रहेको ज्युहाको पहाडमा पाइने एक प्रकारको अंगुर हो। यो चिजसँग खाइने सोभिन्युँ ब्लँ भने होइन। आज पनि यो क्षेत्रमा गएर त्यहाँको वाइन चाखे ९ सय वर्षअघि जस्तो स्वाद थियो, ठ्याक्कै त्यस्तै स्वाद पाइन्छ।
‘एक किसिमले समयमा रोकिएजस्तो लाग्छ,’ डा. नेथन वेल्सले भने। उनी संयुक्त अधिराज्यको युनिभर्सिटी अफ योर्कका पुरातत्वविद् हुन्। उनी मुख्य लेखक रहेको एउटा प्रतिवेदन नेचर प्लान्ट्स नामक जर्नलमा प्रकाशित भएको छ। ‘उनीहरूले नाममात्रै रिसाइकल गरेका होलान् भन्ने ठानेको थिएँ र एकपछि अर्काे पुस्ताले चलाउँछन् भन्ने मेरो बुझाइ थियो। तर त्यस्तो होइन रहेछ।’
अध्ययनको क्रममा फ्रान्सको विभिन्न पुरातात्विक क्षेत्रका कुवाँ र शौचालयमा भेटिएका २८ प्रकारका अंगुरका दानाको डिएनए विश्लेषण गरिएको छ। ती स्थानमा पिसिएका अंगुर फ्याँकिन्थ्यो अथवा अंगुर खाने पशु वा मानिसले त्यहाँ शौच गर्ने गर्थे। डा. वेल्सको टोलीले परीक्षणबाट प्राप्त ‘सिक्वेन्स’लाई ‘ग्रेपरिसेक’ नामक अंगुरको ‘जेनेटिक बैंक’सँग तुलना गर्यो।
अंगुरका निश्चित प्रकारप्रति वाइन निर्माता कसरी सयौं वर्षसम्म वफादार हुन्छन् भनेर अनुसन्धानको नतिजाले देखाएको छ। उत्कृष्ट अंगुरलाई कसरी उत्पादन गर्ने भनेर अधिकांश उत्पादकले १० वा २० शताब्दी लगानी गरेका छन्। प्रकृतिको गतिसँगै अंगुरका नयाँ प्रकारलाई विकास हुन दिने वा एउटा भरपर्दाे प्रजाति स्याहार्दै उत्कृष्ट ‘क्लोन’ तयार गर्ने, उनीहरूसँग विकल्प थियो।