उनको जीवनमा एउटा अचम्मको घटना घट्यो । त्यसबेला उनी करिब ३ वर्षका थिए । उनले त्योबेला नेपाली बोल्न जानेका थिएनन् । मातृभाषा अर्थात् गुरुङ भाषामात्रै बोल्थे । गाउँले परिवेश यस्तै थियो । उनी त्यो बाल उमेरमा आफ्नो लीला देखाउँदो थिए । उनको मामाघरमा उनको घर गाउँ याङ्जाकोटबाट केही घर गुरुङ बसाइँसराई गरेर गएका रहेछन् । ती लामा गुरुङहरू थिए । ती धनि पनि थिए । तिनै बसाइँसराई गरेर गएका लामा गुरुङहरूले गाउँमा भागवत सप्ताह लगाएका थिए ।
त्यो सप्ताहमा उनकी आमालाई पनि निम्तो दिइयो । आमा उनलाई बोकेर माइती गइन् । भागवत सप्ताह घरमा नलगाएर वर–पिपलको चौतारोको छेउमा चौका बनाएर लगाइँदै थियो । सप्ताहमा पुराण वाचन चलिरहेकै थियो । गाउँलेहरूको जमघट स्वाभाविक थियो । उनी पनि आमा र छ्यामाहरूसँग सप्ताहामा गए ।
तीन वर्षे बालक । घुँम्रिएको कपाल । गोरो वर्ण । सर्लक्क परेको अनुहार । यो नौलो बालक देखेर गुरु मोहित भए । उनले बालकलाई आफू नजिक बोलाए । तर बालक के जान्थे र नयाँ नौलो मानिसकहाँ ।
गुरु पनि कम थिएनन् । उनले सिन्कामा एउटा सेल उठाएर बालकलाई लोभ्याउँदै आफूतिर बोलाउन थाले । अब बालक लोभिए । उनी सेलको पछिपछि लागे । सप्ताहमा बसेका मूल गुरुतिर उनी लम्किए । मंगलबार अपरान्ह आफ्नै कार्यकक्षमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ (७२) आफू तीन वर्षको हुँदाको प्रसंग सुनाउँदै थिए । उनले यो प्रसंग आमाबाट सुनेका थिए ।
डा. गुरुङ भन्छन्, “यसरी सेल रोटी देखाएपछि म पनि लोभले अगाडि बढेछु । अनि अगाडि बढ्यो कि उनले सेल तान्थे । यसरी सेललाई पछ्याउँदै म गुरुको अगाडि पुगेछु । त्यसपछि त गुरुले मलाई च्याप्प समातेछन् । ती मूल पण्डितलाई मदेखि के मोह भएछ, भएछ । सायद कृष्ण भगवानको बाललीला सम्झिए उनले । नभए, भागवत सप्ताहको चौकामा बसेका पण्डित म गुरुङको बच्चोलाई किन लिन्थे काखमा ! गुरुलार्ई जैसीबाहुनले त छुन पाउँदैनन् भने म त गुरुङको बच्चा । तर मेरा लागि यहीबाट भगवानको अनुग्रह भयो । सायद, यहीँबाट संस्कृति, संस्कृततर्फको बाटो खुल्यो मेरा लागि ।”