सगरमाथा आरोहणमा नयाँ कीर्तिमान : एक दिनमै दुईसय २३ पर्वतारोही शिखरमा

सगरमाथा आरोहीहरूको लर्को । तस्बिर : निर्मल पुर्जा

विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा एक दिनमा दुईसय २३ आरोही पुगेर नयाँ आरोहण कीर्तिमान बनेको छ । यही सिजनको गत मे २२ मा एक दिनमा यति धेरै आरोहीले सगरमाथा शिखर चुमेपछि एक दिनमै सबैभन्दा बढी आरोहीले सगरमाथा चढेको यो नयाँ कीर्तिमान बनेको हो । सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा एक दिनमै यति धेरै आरोहीले यसअघि सगरमाथाको शिर कहिलै टेकेका थिएनन् ।

यसैगरी मे २३ मा दुई सय १२ आरोहीले सगरमाथा शिखर चुमेका छन् । यो संख्यामा पनि एकदिनमै  यसअघि कहिलै सगरमथाको शिर टेकिएको थिएन। त्यसैले यो पनि एक दिनमै धेरै आरोही सगरमाथा शिखरमा पुगेको दोस्रो कीर्तिमानी संख्या हो ।

यस अतिरिक्त यस सिजनमा सगरमाथा आरोहणमा अरू पनि धेरै नयाँ कीर्तिमान बनेका छन् । सरकारले एक सिजनमै तीनसय ८१ टोलीलाई सगरमाथा आरोहणको अनुमति दिएर एकै सिजनमा यतिका धेरै पर्वतारोही टोलीले अनुमति पाएको कीर्तिमान बन्यो । एकै सिजनमा छ सय ४४  जना सगरमाथा शिखरमा पुगे, संख्याका हिसाबले एकै सिजनमा यति धेरै  आरोही सगरमाथा चढेको यो नयाँ कीर्तिमान हो । यो संख्या सरदार, गाइड, उचाईका कामदार र अनुमति लिएका आरोही समेतको हो । 

यो सिजनमा ८ दिन मात्र आरोहीहरू सगरमाथाको शिखर चुम्न सके । मे १५ देखि सुरू भएको आरोहण सिजन मे २६ मा सकियो। यस बीचमा मे १७, १८, १९ र २४ मा कोही पनि शिखरमा पुगेनन् । 

यो सिजनमा अर्को पनि कीर्तिमान बन्यो । त्यो कीर्तिमान एकै सिजनमा सबैभन्दा बढी सगरमाथा आरोहीको मृत्यु कीर्तिमान हो । यस सिजनमा ९ जना सगरमाथा आरोहीहरूको मृत्यु भयो । बितेका ७० वर्षमा तीनसय जति पर्वतारोहीको निधन भएको तथ्यांक पाइन्छ । 

मे १५      ३१
मे १६      ८४
मे २०      १३
मे २१      ६२
मे २२      २२३
मे २३      २१२
मे २५         २
मे  २६       १७
जम्मा       ६४४

 

प्रकाशित मिति: : 2019-06-14 02:30:06

प्रतिकृया दिनुहोस्