भारतीय टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएपछि उनको ठाउँमा ऋषभ पन्त इंग्ल्याड जाने भएका छन्।
पछिल्लो एक वर्षमा उत्कृष्ट फर्ममा रहेका पन्त भारतीय टोलीमा नपरेपछि चर्चामा थिए।
अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएका धवनको औंला फ्याक्चर भएको छ । जसका कारण धवन तीन साताका लागि मैदान बाहिर बस्नेछन् । अहिलेलाई तीन खेलमा खेल्न नसक्ने भनिए पनि भारतबाट ऋषभ बुधबार नै इंग्ल्याण्ड पुगिसकेका छन्।
बिहीबार न्यूजील्याण्डविरुद्धको खेलअघि ऋषभ इंग्ल्याण्ड पुगे पनि धवन प्रतियोगितबाट बाहिरिएको पूर्ण रूपमा घोषणा नहुँदासम्म अन्तिम १५ मा भने हुने छैनन्।
बिसिसिआईका एक प्रतिनिधिका अनुसार पन्तलाई टिमको सल्लाहमै इंग्ल्याण्ड बोलाइएको हो।
पछिल्लो एक वर्ष उत्कृष्ट प्रदर्शन गरेका पन्तले इंग्ल्याण्ड तथा अस्ट्रेलियाविरूद्धको टेस्ट म्याचमा शतकसमेत प्रहार गरेका थिए।
सुनील गावस्करसहित केही पूर्व खेलाडीले धवन फिट नभएसम्म उनको स्थानमा पन्तलाई ल्याउनुपर्ने वकालत गरेका थिए।
धवनले आगामी विहिबार न्यूजिल्याण्ड र आईतबार पाकिस्तानविरूद्ध खेल खेल्न सक्नेछैनन।
आगामी जुन २२ मा अफगानिस्तानविरूद्धको खेलमा उनी फिट हुन्छन् या हुन्नन त्यो हेर्न बाँकि छ।
टिम व्यवस्थापनका अनुसार धवन प्रतियोगिताको अन्तिम चरणमा फिट हुनेछन्।
आइतबार पाकिस्तानविरुद्ध खेलेपछि भारतले त्यसको ६ दिनपछि अफगानिस्तानविरूद्ध खेल्नेछ। यस हिसाबमा धवनसँग ११ दिनको आराम गर्ने समय पाउनेछन्।
यदि धवन अफगानिस्तान विरूद्ध खेलमा फिट नभए पनि त्यसको ५ दिनपछि म्यान्चेस्टरमा हुने वेस्टइण्डिज विरूद्धको खेलमा पुरै फिट हुनेछन्।
यस्तोमा टिम व्यवस्थापन धवनमाथि जोखिम लिनेबारे सोचिसकेको हुनसक्छ। अन्तिम २ या ३ खेलका लागि उनी पूर्णत फिट हुनेछन।
भारतले जुन ३० मा घरेलु टोली इंग्ल्याण्ड, जुलाई २ मा बंगलादेश तथा जुलाई ६ मा श्रीलंकाविरूद्ध खेल्नेछ।
यसअघि धवनले अस्ट्रेलियाविरूद्ध आइतबार १०९ बलमा ११७ रनको सानदार पारी खेलेका थिए।
आईसीसी प्रतियोगितामा धवनको शानदार रेकर्ड बनाएसँगै चोटग्रस्त भएपछि भारतका लागि ठूलो झड्का लागेको छ।
धवनले विश्वकपका १० खेलमा ५३.७० को औसतमा ९४.२१ को स्ट्राइक रेटमा ५३५ रन बनाएका छन्।
आइतबार देब्रे हातको औला भाँचिएसँगै उनले फिल्डिङ गरेका थिएनन्। उनको स्थानमा रविन्द्र जडेजाले पुरै ५० ओभर फिल्डिङ गरेका थिए।