म न्युरोडको खिचापोखरीमा जन्मिएको हुँ । हामी ०३५/०३६ सालतिर मात्र ठमेल सरेका हौँ । खिचापोखरीमा पुरानो घर अझै ठडिएकै छ । ०७२ को भूकम्पले झड्का दियो । रेट्रोफिट गरेर जवान बनायौँ । त्यो घर हाम्रो पाँच पुस्ताको चिनारी हो । हामी खिचापोखरी बस्दा घर कम थिए । खिचापोखरी हुँदै जुद्धसडक, इन्द्रचोकसम्म एकनासका घर देखिन्थे । हाम्रो घरअघि सिस्नोघारी थियो । सुन्धारातिर जाने बाटो नै थिएन । त्यो टोल र पुराना साथीसँगको आत्मीयता आज पनि उत्तिकै ताजा छ । सबैभन्दा नजिकको साथी रोमी तुलाधर थियो । बलराम श्रेष्ठ, सुरेन्द्र राजभण्डारीलगायत साथीसँग गुच्चा खेल्थ्यौँ ।
त्यतिवेला असन, इन्द्रचोक, छेत्रपाटी, असन गुल्जार थिए । ती बजार छुट्याउन बीच–बीचमा झाडी थिए । त्यहाँ स्याल कराउँथे । खिचापोखरीबाट इन्द्रचोक, असनतिर पुग्नै डर लाग्थ्यो । कलेज पढ्ने वेलासम्म म खिचापोखरी नै बसेँ । हामी सर्दा ठमेल एकान्तजस्तो थियो । आमाले पटक–पटक ‘खिचापोखरी लैजाऊ, यो जंगलमा ल्याएर किन राख्यौ ? मैले यहाँ कसैलाई पनि चिनेको छैन, कसरी समय बिताउने ?’ भन्दै रुनु भएको थियो । ज्याठा क्षेत्र झाडी नै झाडी थियो । लैनचौर जाने सडकमा प्रधानहरूको बस्ती थियो ।