अष्ट्रेलियालाई हराउँदा भारतको विश्वकपमा लगातार दोस्रो जित

तस्बिरः बिएल

अष्ट्रेलियालाई हराउँदै भारतले इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।

लण्डनको केनिङटन ओभलमा आइतबार भएको प्रतिश्पर्धात्मक खेलमा अष्ट्रेलियालाई ३६ रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो।

पहिले ब्याटिङ गर्दै भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ, डेभिड वार्नर र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्।

स्मिथले ६९ रन बनाउने क्रममा ७० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै वार्नरले ५६ रन बनाउने क्रममा ८४ बल खेल्दै ५ चौका प्रहार गरे। एलेक्सले मात्र ३५ बलमा ५५ रन बनाए पनि हारबाट जोगाउन सकेनन्।

यस्तै अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए।

भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३/३ विकेट लिए। यस्तै युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनाएको थियो।

भारतको उच्च स्कोरमा शिखर धवनले शतकीय इनिङ्स खेले। धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए ।

यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए।

अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए ।

यो जितसँगै भारतले २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो।

उता तेस्रो खेलबाट पहिलो हार व्यहोरेको अष्ट्रेलियाले अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो।

प्रकाशित मिति: : 2019-06-09 23:43:21

प्रतिकृया दिनुहोस्