न्युजिल्याण्डको संसद परिशरमा सगरमाथा दिवश मनाइएको छ । इतिहासमै पहिलोपटक संसद परिशरमा आयोजित सगरमाथा दिवश समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डका एथिक्स मन्त्री जेनी सलेसाले नेपाल भगवान गौतम बुद्ध, बहादुर गोरखा सिपाही र विश्वकै सर्वोच्च शिखर भएको सुन्दर देश हो भन्दै यस्तो सुन्दर र शान्त देशमा जन्मन पाउँने हरेक नेपाली भाग्यमानी भएको बताइन् ।
न्युजिल्याण्डको नेपाली डायस्पोराको सबैभन्दा ठुलो संस्था न्युजिल्याण्ड नेपाली समाजका अध्यक्ष दिनेश खड्काले न्युजिल्याण्डको संसद परिसरमा आयोजित यस कार्यक्रमले नेपाल र न्युजिल्याण्डबीचको द्वीपक्षीय सम्बन्ध अरू उचाइमा पुग्ने बताउँदै यो दिन इतिहासमै एक सम्झनलायक दिन हुने छ ।
वेलिङ्टन नेपाली समाजले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष डा. रमिल अधिकारीले कार्यक्रम सफल भएको बताउँदै आगामी वर्षदेखि निरन्तर रूपमा आयोजना गर्ने वाचा गरे ।
प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीकी पत्नी जुन हिलारी कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेकी थिइन् । यसैगरी कार्यक्रममा एथिक्स उपमन्त्री माइकल उड, सांसदहरू डंकन वेभ, प्रियन्का राधाकृष्णन् मेलिसा ली, साइमन ब्राउनलगायतका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।
स्थानीय नेपाली समुदायको उत्साहप्रद उपस्थिति रहेको कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन दामोदर न्यौपानेले गरेका थिए ।
६६ वर्षअघि सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका थिए । यो आरोहणले एउटा नयाँ कीर्तिमान बनाउनुका साथै नेपाल र न्युजिल्याण्बीचको सम्बन्धलाई अरू नजिक बनाएको थियो ।
विगत १२ वर्षदेखि नेपालले पहिलोपटक सगरमाथामाथि मानव विजय हासिल भएको दिनका रूपमा मे २९ मा सगरमाथा दिवश मनाउँदै आएको छ ।