२२ जेठ, काठमाडौं । सन् २०१२ मा म्यानमारबाट बांगलादेश, भारत हुँदै काठमाडौं छिर्दा जाफर आलमको समूहमा तीन परिवारका ११ जना थिए । सात वर्षमा काठमाडौंमा म्यान्मारका रोहिंज्या शरणार्थी परिवार संख्या चार सय हाराहारी पुगेको छ ।
कपनमा रोहिंज्या शरणार्थीहरु ह्वात्तै बढेको चाहिँ सन् २०१६ पछि हो । अहिले कपनकै लसुनटार र हात्तिगौंडामा पनि रोहिंज्याका टहरा बन्दैछन् । जग्गा भाडामा लिएर बनेका टहरे बस्तीमा म्यानमारको राखाइन राज्यको मुस्लिम परिवेश देख्न सकिन्छ ।
देश फर्कन मन लागेर के गर्नू !
दक्षिण–पश्चिम म्यानमारको राखाइन राज्यमा रहेको थातथलो छोडेर नेपाल आउने रोहिंज्याहरुको कथा दर्दनाक छ ।
उनीहरुको दुर्दिन सन् २००७ बाट सुरु हुन्छ । त्यसबेलाको एउटा बलात्कारको घटनालाई जातीय रङ दिएर अल्पसंख्यक रोहिंज्या मुसलमान समुदायलाई तारो बनाइयो ।
जबर्जस्त रुपमा फैलाइएको हिंसाको क्रममा रोहिंज्या बस्तीहरु जलाइयो, हजारौं मारिए । बलात्कारलाई सामान्य मानियो । लाखौं परिवार छिन्नभिन्न भए । हजारौं बेपत्ता भए।
सक्नेजति समुद्रको छालसँगै लाखापाखा लागे । संयुक्त राष्ट्रसंघले ‘मानवीय संकट’ भनेको त्यही हिंसाकालमा देश छोड्नेमा जाफर आलमको समूह पनि एक थियो ।
ठूलो कष्टले एक महिनामा म्यानमारबाट बंगलादेश पसेको यो समूहले त्यहाँ मजदुरी गरेर १० दिन बितायो । त्यसपछि दलाललाई पैसा खुवाएर भारत छिरेको आलम बताउँछन् । उनीहरु भारतको उत्तर प्रदेश (युपी) पुगे, जहाँ तीन परिवार रोहिंज्या पहिल्यै पुगेका थिए । त्यहाँको एउटा मासु प्रशोधनशालामा काम गर्न थालेको साढे दुई महिना उनीहरु सबैलाई भारतीय प्रहरीले समात्यो ।