नेपालका प्रधानमन्त्री के पी शर्मा ओली शुक्रबार अपरान्ह काठमाडोैं फर्कदैछन्। उनी फर्कनुअघि आज पौने १२ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग २० मिनेटको भेटघाट गर्नेछन्।
यो भेटघाट भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी सबै सरकार तथा राष्ट्रप्रमुखहरूसँग हुने श्रृंखलावद्ध भेटघाटकै एक श्रृंखलाका रूपमा हुन लागेको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथग्रहणमा बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखका अतिरिक्त किर्गिस्तानका राष्ट्रपति र मरिससका प्रधानमन्त्रीलाई विशेष पाहुनाका रूपमा आमन्त्रण गरेका थिए।
उनको निम्ता स्विकार गरेर ८ राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख नयाँदिल्ली पुगेका थिए। सपथग्रहण समारोहमा सहभागी भएपछि उनीहरू सबैका लागि भारतीय राष्ट्रपतिले रात्रिभोज आयोजना गरेका थिए। नेपालका प्रधानमन्त्री ओली पनि रात्रिभोजमा सहभागी थिए।
प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन विहिबार अपरान्ह नयाँदिल्ली प्रस्थान गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीले नेपालबिरूद्ध लगाएको अघोषित नाकाबन्दीका समयमा उनकै विरोध गरेर राष्ट्रवादी नेताको छवि बनाएर ओली प्रचण्ड बहुमतका साथ नेपालको सत्तामा फर्केका थिए। त्यसयता उनीहरूबीचको सम्बन्ध सुधारका लागि प्रयत्न भएपनि त्यो अझै पनि शंकाकै घेराभित्र रहेको छ।
यसपटक मोदी सरकारमा एस जयन्तको अप्रत्यासित सहभागिताले मोदीको नेपाल दृष्टिकोण अझै पनि पूरै सकारात्मक भैसकेको जस्तो देखिएको छैन। नेपालमा संविधान घोषणा गर्ने बेलामा त्यसलाई रोक्नका लागि मोदीले तत्कालिन विदेश सचिव जयन्तलाई नै विशेषदूत बनाएर नेपाल पठाएका थिए। सम्भवत: जयन्त नै यसपटक विदेशमन्त्री बन्दैछन्।