वि.सं. १९९० सालको महाभूकम्पको दुई महिनापछिको कुनै आइतबार सिंहदरबार बिलियार्ड बैठक अघिल्तिरको चौरमा ठूलो पाल टाँगिएको थियो । श्री ५ त्रिभुवन, कमाण्डर इन चीफ रुद्रशमशेर जबरा, रोलवाला जनरल र उनीहरूका आफन्तजन श्री ३ महाराजको पर्खाइमा थिए ।
अपरान्ह ठीक दुई बजेर २५ मिनेट जाँदा दुबै हातमा लोडेड पेस्तोल लिएका जुद्धशमशेर बैठकको बीचमा आएर उभिए । त्यसैगरी हातमा माजर पेस्तोल सोझ्याएका तीन भाइ छोरा जुद्धको पछाडि उभिए । कमाण्डर इन चीफ रुद्रशमशेरलाई हेर्दै जुद्धशमशेरले कराए, ‘…तिमी पाल्पा जाउ, उहीँ बस ।’
‘मैले त केही बिराएजस्तो लाग्दैन…’, रुद्रशमशेरको जवाफ ।
‘तिमीले केही बिरायौ भनेर मैले भनेको छैन’, जुद्धशमशेरले थपे ‘सबै काम राम्रोसित गरेका छौ, … लौ जाऔ ।’
प्रमोद समशेर जबराको पुस्तक ‘राणाशासनको वृत्तान्त’ मा उल्लेख भएको रुद्रशमशेरको खलक पाल्पा धपिँदाको प्रसंग हो यो ।
प्रमोदशमशेरका अनुसार, त्योबेला रुद्र समशेरबाहेक अरुको चल-अचल सम्पत्ति खोस्ने, जफत गर्ने काम भएन । उनी लेख्छन्, ‘जुद्ध र र रुद्र बालसंगाती थिए ।
बेलामौकामा जुद्धलाई रुद्रले धेरै प्रकारबाट सहयोग पनि गर्थे भन्ने सुनिएको थियो । तर, के कारणले हो, उनकै सम्पत्ति मात्र जफत गरे । त्यो कुरा खुल्न सकेन ।’