लोकतान्त्रिक गणतन्त्र नेपालमा भीआइपी नाम धारण गरेको, आफूलाई आमजनताभन्दा अति उँचो, अति विशिष्ट ठान्ने एउटा ‘अनौठो वर्ग’ अस्तित्वमा छ । असनका मैमत्त साँढेलाई जस्तै यो वर्गका अधिकांशलाई ऐन, नियम, कानूनको मर्यादा, ख्याल र परवाह हुँदैन।
सिद्धान्ततः कानूनको नजरमा सबै समान हुने गर्छन् । तर बोली र बचनमा अग्रगमनको रटान लगाएर पनि हिजोको राणाकालीन र शाही राजतन्त्रकालीन ‘भिभीआइपी’ संस्कारलाई ग्वाम्मै अंगालो हालेर बसेको यो वर्गलाई विद्यमान ऐन, कानून, नियमहरुले रोक्दैन, छेक्दैन । जब भीआइपी दर्जा पाएको यो वर्गको ‘सवारी’ सडकमा चल्छ, सडकमा हिँड्ने, गुड्ने सर्वसाधारणहरु असनको मैमत्त साँढे सडकमा हिँडेको बेलामा भन्दा पनि तीन गुना बेसी आतंकित हुनुपर्ने स्थिति पैदा हुन्छ ।