स्थान : भद्रकाली मन्दिर, काठमाडौं
समय : आइबार बिहान ११ः३० बजे
दुईजना पण्डितले जग्गेवरपर केही टपरी राखे । टपरीमाथि धान र केही पैसा पनि । केरा, नरिवल अन्य फलफूल पनि राखे । त्यसपछि लगाउन थाले जग्गेमा रेखी । कोट लगाएका चार/पाँचजना जन्ती जग्गेनजिकै आए । सारी लगाएका एक हुल महिला पनि सँगै आइपुगे । हुलबीच हाँस्दै आइन्– बेहुली । अब जग्गे वरपर १० जनाजति जन्ती जम्मा भए ।
हस्याङ्फस्याङ् गर्दै आइपुगे क्यामरा पर्सन । त्यसपछि सुरु भयो बिहे । तर, पण्डितले मन्त्रोच्चारण गरेनन् । दुई शब्द मन्त्र पढेझैँ गरे अनि ‘क्यामरा खै क्यामरा’ भन्दै कराउन थाले । बुहुला–बेहुलीको तस्बिर एंगल मिलाइमिलाइ खिच्न लगाए । यस्तो लाग्थ्यो– उनी बिहे गरिदिने पण्डित होइनन्, फिल्मका निर्देशक हुन् । यस्तो लाग्थ्यो, यहाँ कुनै फिल्मका लागि बिहेको सिन– सुटिङ भइरहेको थियो ।
बेहुला शान्त थिए, तर बेहुली अघिदेखि नै हाँसिरहेकी थिइन् । पण्डितले बेहुलीलाई भने, ‘बहिनी धेरै नहाँस, अनुहार अँध्यारो बनाऊ ।’ तर, बेहुली मुसुमुसु हाँसिरहिन् ।औँठी लगाउने वेला भयो । बेहुलालाई औँठी लगाइदिन बेहुली ठीक परिन् । त्यति नै वेला विवाहमण्डपमा होहल्ला भयो । सबै एकसाथ कराउन, ‘औँलामा औँठी पूरै नहाल, रोक रोक ।’