नेपालका लागि अमेरिकी र चिनिया राजदूतबीच 'बीआरआई'लाई लिएर वाकयुद्ध

अमेरिकी राजदूत बेरी र चिनिया राजदूत यान्छी । स्केच : फाइल तस्बिरका साथ बीएल ।

नेपालस्थित अमेरिकी राजदूत र चिनिया राजदूतबीच वाकयुद्ध सुरू भएको छ। उनीहरू बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा नेपालको सहभागितालाई लिएर परस्पर विरोधी भनाइका साथ वाकयुद्धमा उत्रिएका हुन्।

अमेरिका नेपाललाई भारतसँग इण्डो प्यासिफिक प्याक्टमा लैजान चाहन्छ तर नेपाल भने चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा लामवद्ध भैरहेको छ। यो कुरा अमेरिकालाई मन परेको छैन। र, ऊ सुरूदेखि नै नेपाललाई सकभर फकाउने रणनीतिमा लागेको थियो।त्यसले काम नगरेपछि केही समययता भड्काउने अभियानमा लागेजस्तो देखिन्छ। 

यही क्रममा नेपालस्थित अमेरिकी राजदूत बेरीले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत लगानी भित्र्याउने मुलुक ऋणको दुश्चक्रमा फस्ने बताएका थिए। उनले नेपाल पनि त्यसमा फस्न सक्नेतर्फ संकेत गर्दै चीनको लगानी नेपालको पनि हितमा हुनुपर्ने सर्तमा मात्रै आउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।उनले अगाडि भनेका थिए- अहिलेकै स्थितिमा नेपालमा बीआरआईमार्फत् ऋण भित्राए नेपाल श्रीलंकालगायत मुलुकमा ‘बीआरआई’ ले निम्त्याएको ऋणको दुश्चक्रमा फस्न सक्छ।'

अमेरिकी राजदूतको यो भनाइबाट नेपालका लागि चिनिया राजदूत होऊ यान्छी भड्किइन्। र, उनले राजदूताबासमा पत्रकार सम्मेलन नै आयोजना गर्दै अमेरिकी राजदूतको भनाइको खण्डन गरिन्। उनले भनिन्-  ‘चीनको लगानीले कुनै पनि मुलुक ऋणको दुश्चक्रमा परेको प्रमाण छैन।त्यसैले चीनको लगानीका सम्बन्धमा अमेरिकी धारणा भ्रमपूर्ण छ।’ 

उनले यसलाई अमेरिकाको झुठो दाबीको संज्ञा दिदै अगाडि भनिन्- ‘बीआरआईमा संलग्न राष्ट्र र चीन बराबरीका साझेदार हुन्, यसमा हामी कुनै पनि थप राजनीतिक सर्त थप्ने वा भूराजनीतिक रणनीति अवलम्बन गर्ने काम गर्दैनौं।’ 
 
केही समयअघि चीनको बेइजिङमा सम्पन्न बीआरआईको दोस्रो सम्मेलनमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ३८ देशको सहभागिता रहेको थियो। त्यही क्रममा नेपाल र चीनबीच सहयोग सम्झौताहरू पनि भएका थिए।नेपालमा बीआरआईमार्फत् ऋणमा चिनियाँ रेल ल्याउनेलगायतका योजनाहरू अगाडि बढिरहेका छन्। 



प्रकाशित मिति: : 2019-05-25 00:43:45

प्रतिकृया दिनुहोस्