यसपाला पनि पारिजात दिदीलाई सम्झिने दिन आयो र गयो । घुमिफिरी वर्ष दिनमा आउने हिन्दू पितृलाई सम्झिने श्राद्धजस्तो दिन । यान्त्रिक र निरस, रुढ र आवेगरहित कर्मकाण्डजस्तो दिन । वर्षभरिका त्यतिका दिन पारिजात दिदी मानौँ हाम्रो स्मृतिको अँध्यारो कुनामा कतै विलीन भएकी थिइन् । अहिले सम्झनामा झुलुक्क उदाइन्, र फेरि बिर्सनामा मिलिक्कै बिलाइन् ।
लोक जान्दछ– पारिजात प्रतिरोधी चेतनाको नाम हो । नित्य, अटल सत्यनिष्ठ चेतनाको नाम पारिजात । एक अथक संघर्षशील योद्धाको नाम पारिजात । सरलता र सादगी एवं अभिमान र स्वाभिमानको एक प्रतिमूर्ति पारिजात । पारिजात एक अनवरत अभियानको नाम । र, स्वयंमा एक संस्थाको नाम पारिजात । जीवनको सघन अन्धकारमा पारिजात कहिले पिलपिले जूनकिरी, कहिले मैनबत्तीको शिखा, कहिले झल्झलाकार मशाल । जहाँ विभेद, त्यहाँ पारिजात । जहाँ अन्याय, त्यहाँ पारिजात । जहाँ वञ्चना, त्यहाँ पारिजात । जहाँ प्रताडना, त्यहाँ पारिजात । जहाँ हेलाहोचो र अपमान, जहाँ रोदन र क्रन्दन, जहाँ आक्रोश र प्रतिकार, त्यहाँ पारिजात । पारिजात जनजीवनको संग्रामी मोर्चामा सदैव अगाडि । जनजीवनका जोखिम, खतरा र कष्टका घडीहरूमा सदैव अगाडि पारिजात ।