लगातार कैयन वर्षसम्मको प्रयासपछि बल्लतल्ल डीभी पर्यो उनलाई ।
अमेरिका जाने सपना सपनै रहला भन्ने ठूलो डर पनि थियो सँगसँगै । तर अन्ततः डीभी पर्यो । उनी निक्कै खुशी थिइन् अमेरिका जाने समयमा । खुशी त अहिले पनि छिन् तर पहिले र अहिलेको खुशीमा समानता खोज्दै छिन् उनी ।
पहिले उनी ‘अमेरिकन ड्रिम’मा खुशी थिइन् । चलचित्रका नायक नायिका जस्तो भएर बाँच्न पाइने भयो भनेर मख्ख थिइन् । तर वास्तविकता साहै फरक र डरलाग्दो हुने रहेछ । चलचित्रका नायक नायिकाको जस्तो जीवन पाइन्छ भनेर कल्पिएकी उनी बिहानदेखि बेलुकीसम्म टुसुक्क पनि बस्न नपाइ काम गर्छिन् अहिले अमेरिकामा ।
कामको समयको टुंगो पनि हुँदैन । कहिले बिहान, कहिले दिउँसो अनि कहिले साँझ । एउटै छतमुनि सँगै बस्ने मानिसहरुको अनुहार कहिलेकाहीँ मात्र देख्न पाउँछिन् उनी । ती मान्छेहरु मध्ये उनका श्रीमान् पनि एक हुन् । श्रीमान् बिहान चाँडै काममा जान्छन् उनी नउठ्दै । अनि सुतिसक्छन् राति उनी नआउँदै । कहिलेकाहीँ श्रीमानलाई जागै बस्न अनुराेध गर्दै फोन गर्छिन् उनी । श्रीमान विचरा थकाइले चुर भएर अनुरोध स्वीकार्न सक्ने अवस्थामा पनि हुँदैनन् धेरैजसो ।