सिंगो भूगोल आकर्षित गर्ने सामथ्र्य राख्ने ठाउँ हो– लुम्बिनी। लुम्बिनीसँगै धेरैले उच्चारण गर्ने नाम हो– प्रा. केन्जो टाँगे। अर्थात् जापानी वास्तुकलाविद्। सन् १९७८ मा उनै टाँगेले ६ वर्ष लगाएर तयार पारेका थिए– लुम्बिनी गुरुयोजना। हरेक पुरुषको सफलतामा नारीको भूमिका अहं हुन्छ भन्ने भनाइ जोड्ने हो भने टाँगेसँग जोडिएको एउटा महत्वपूर्ण व्यक्तित्व हो– गजेन्द्रराज देवकोटा। यी उनै व्यक्तित्व हुन्, जसले गुरुयोजना बन्नुअघि र बनेपछि लुम्बिनीलाई लुम्बिनी बनाउन भगीरथ प्रयत्न गरेका थिए। तर देवकोटा ‘बत्तीमुनिको अँध्यारो’ जस्तो सधैं गुमनाम रहे।
‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वसामु चिनाउनुपर्छ भन्ने विचार, चिन्तन र सोच राखी देश–विदेशमा पुगेर भेटेजति सबैलाई घच्घच्याउने एक मात्र व्यक्ति गजेन्द्रराज देवकोटा थिए भन्दा अतिशयोक्ति हुन्न’, प्रताप खत्रीले ‘बुबा !’ कृतिभित्र ‘ओझेलभित्र कर्मयोगी गजेन्द्र’ शीर्षकमा लेखेका छन्। चार दशकअघिको त्यो सपना सपनामै सीमित छ। उक्त गुरुयोजना चार दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। सरकार र लुम्बिनी विकास कोषले पटकपटक अब दुईचार वर्षमा सम्पन्न हुन्छ भने पनि अझै ६ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। तर अहिलेसम्म गुरुयोजनाको काम मात्र ८० प्रतिशत सकिएको छ।