भारतबाट तेस्रो मुलुक जान अनिवार्य गरिदै नेपाली दूताबासको सिफारिशपत्र

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीलाई भारतीय अध्यागमनमा कडाइ गरिने भएको छ। भारतबाट तेस्रो मुलुकमा नेपालीको मानव तस्करी बढेपछि त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारकै अनुरोधमा भारतले अध्यागमन पार गर्न राजदूताबासको सिफारिस अनिबार्य गर्न लागेको छ। 

यो नयाँ ब्यवस्थालाई लागू गर्ने क्रममा नयाँ दिल्लीस्थित भारतका लागि नेपाली राजदूताबासले एक सार्वजनिक सूचना जारी गर्दै भारतीय अध्यागमन पार गर्न राजदूताबासको सिफारिस पत्र चाहिन सक्ने बताएको छ।

सूचनामा 'भारत हुँदै तेस्रो मुलुक यात्रा गर्ने नेपाली नागरिकहरूलाई भारतीय अध्यागमन पार गर्दा यस राजदूताबासको सिफारिसपत्र आवश्यक पर्न सक्ने' उल्लेख गरिएको छ। 

सूचनामा राजदूताबासको सिफारिसपत्रका लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्नाको मनासिव कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षरसहितको निवेदन दिनुपर्ने बताइएको छ। निवेदनका साथमा यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि,  गन्तव्य देशको  भिसा र हवाइ टिकटको प्रतिलिपिका साथै यसअघि भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेमा यात्रा अभिलेख (भिसा, आगमन, प्रस्थान आदि)को प्रतिलिपि पनि अनिवार्यरूपमा पेश गर्नुपर्ने हुन्छ। 

यसका अतिरिक्त रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने बताइएको छ। अध्ययन तथा व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकको हकमा उनीहरूले अध्ययन र व्यवसायसँग सम्बन्धित परिचयपत्र र कागजातहरू पनि पेश गर्नुपर्ने हुन्छ। 

सम्बन्धित व्यक्ति उपस्थित हुन नसक्ने अवस्था भएमा राजदूताबासको इमेलमार्फत् पनि आवेदन दिन सकिने बताइएको छ। यसरी इमेलमा प्राईत आवेदनका लागि इमेलमै सिफारिसपत्र पठाउन सकिने पनि सूचनामा उल्लेख छ।

भारतबाट तेस्रो मुलुकमा नेपालीहरूको मानव तस्करी बढेपछि यसलाई नियन्त्रण गर्न नेपाल सरकारले नै भारत सरकारसँग सहयोग मागेको बताइएको छ। एक भारतीय अध्यागमन अधिकारीले ब्रेक एन लिंक्ससँग यस कुराको पुष्टि गर्दै भने, 'हामीले नेपाल सरकारकै अनुरोधमा राजदूताबासको सिफारिसपत्र अनिवार्य गर्न लागेका हौं।अहिले यो आंशिक रूपमा लागु भए पनि ढिलो चाँडो यो अनिवार्यरूपमा लागु हुने नै छ।'

 

 

 

प्रकाशित मिति: : 2019-05-16 08:35:49

प्रतिकृया दिनुहोस्