बंगलादेशमा छात्रालाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

Photo Credit : AFP

बंगलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।

नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्।त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो।

त्यहाँ उनलाई बुर्का लगाएका चार-पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए। उनले अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरिएको थियो।नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-10-24 14:20:27

प्रतिकृया दिनुहोस्