विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक, यसरी पुग्नसक्छ नेपाल विश्वकपमा

तस्बिरः आइसिसि

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी सन् २०२३ मा भारतमा हुने पुरूष विश्व कपका लागि लिग-२ को पहिलो चरणका ८ सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।

विश्वकप लिग-२ मा नेपालसहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यूगिनी, अमेरिका र ओमान गरि ७ राष्ट्रले छनोटको लागि अगष्ट २०१९ देखि प्रतियोगिता खेल्नेछन्।

नामिबिया, पपुवा न्युगिनी, अमेरिका र ओमान भर्खरै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ को उत्कृष्ट ४ भित्र परेपछि एकदिवसीय मान्यतासहित विश्व कप लिग-२ खेल्न छनोट भएका हुन् ।

७ राष्ट्रले विश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ। सम्पूर्ण खेलले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत पाउनेछ।

सहभागी सात टिम मध्ये शीर्ष तीनटिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनोट प्रतियोगिता खेल्न पाउनेछन्।

बाँकी ४ टिमले विश्वकप छनोट प्ले-अफ खेल्न पाउनेछन्। प्लेअफका शीर्ष दुई टोलीलेविश्वकप २०२२ विश्वकप छनोट प्रतियोगिता खेल्नेछन्।

छनोट खेलबाट उत्कृष्ट २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२३ को एकदिवसीय विश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले यसअघिनै घोषणा गरिसकेको छ।

नेपालको खेल तालिका

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो सिरिज आगामी वर्ष फेब्रुवरीमा घरेलु मैदानमै खेल्नेछ।

टियु मैदानमा हुने उक्त सिरिजमा नेपाल, अमेरिका र ओमान सहभागी हुनेछन्।

फेब्रुअरी ५ देखि १२ सम्म हुने पहिलो सिरिजमा कुल ६ खेल हुनेछन्। ३ वटै टिमले एक अर्काबिरूद्ध २/२ वटा खेल खेल्नेछन्।

यस्तै सन् २०२० को अप्रिलमा नामिबियामा नेपाललेनामिबिया र स्कटल्याण्डसँगदोस्रो सिरिज खेल्नेछ।

अप्रिल २० देखि २७ सम्म नामिबियामा फेरि कुल छ खेल हुनेछन्। जसमा हरेक टोलीले २-२ वटा खेल खेल्नेछन्।

यस्तो छ खेल तालिका

  • सन् २०२० फेब्रुअरी ५-१२: नेपाल, ओमान र अमेरिका (टियु मैदान , नेपाल)
  • सन् २०२० अप्रिल २०-२७: नेपाल, नामिबिया र स्कटल्याण्ड (नामिबिया)
  • सन् २०२० जुन ९-१६: पपुवा न्यु गिनी, युएई र नेपाल (पपुवा न्यूगिनी)
  • सन् २०२० जुन: स्कटल्याण्ड, नेपाल, नामिबिया (गते र स्थान तोक्न बाँकी)
  • सन् २०२१ जनवरी: ओमान, अमेरिका र नेपाल (गते र स्थान तोक्न बाँकी)
  • सन् २०२१ फेब्रुअरी: नेपाल, युएई, पपुवा न्यूगिनी (गते र स्थान तोक्न बाँकी)
  • सन् २०२१ अगस्ट: अमेरिका, नेपाल, ओमान (गते र स्थान तोक्न बाँकी)
  • सन् २०२१: नेपाल, नामिबिया र स्कटल्याण्ड (गते र स्थान तोक्न बाँकी)
  • सन् २०२२ जनवरीः  युएई, पपुवा न्यु गिनी र नेपाल (गते र स्थान तोक्न बाँकी)

 यस्तो छ नेपालको विश्वकप २०२३ को यात्रा

नेपालसहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यूगिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सम्मिलित आईसीसी विश्व कप लिग-२ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म नेपालसहित विभिन्न मुलुकमाहुनेछ।

प्रतियोगितामा एउटा टिमले कुल ३६ खेल खेल्नेछन्। यसरीसात टोलीले कुल १२६ खेल खेल्नुपर्नेछ।

यी ७ टिम मध्ये शीर्ष तीन टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन्।

बाँकी चार टिमले विश्वकप छनोट प्ले-अफ खेल्नेछन्।यसमा शीर्ष दुई भित्र पर्ने टोलीले विश्वकप २०२२ विश्वकप छनोट प्रतियोगिता खेल्नेछन्।

१२ टेस्ट राष्ट्रसहित नेदरल्याण्डले सन् २०२० देखि २०२२ को बीचमा एक अर्का बीच कुल १५६ वटा खेल खेल्नेछन्।

आईसीसी पुरूष विश्वकप सुपर लिग नामाकरण गरिएको प्रतियोगिताबाट उत्कृष्ट ८ टिम सोझै २०२३ को एकदिवसीय विश्वकप खेल्न छानिनेछन्।

विश्वकप सुपर लिगबाट सिधै छनोट हुन असफल ५ टिमले २०२२ मा हुनेविश्वकप छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

उक्त छनोटमा आईसीसी विश्व कप लिग-२ बाट आएका ३ टिम तथा विश्वकप छनोट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्।

यसबाट उत्कृष्ट २ टिमले आगामी २०२३ मा भारतमा हुने पुरुष एकदिवसीय विश्वकप क्रिकेट खेल्नेछन्।

प्रकाशित मिति: : 2019-05-07 19:24:21

प्रतिकृया दिनुहोस्