नयाँदिल्ली र आसपासको क्षेत्र प्रदूषणयुक्त वायुले ढाकिन थाल्यो

Photo Credit : Reuters

विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतको राजधानी नयाँदिल्ली र आसपासको क्षेत्र प्रदूषणयुक्त वायुले ढाकिन थालेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार गत शुक्रबार वायुको दिल्लीको हावाको गुणस्तर मापन गर्ने सूचक एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ थियो । जबकि जनस्वास्थ्यका हिसाबले त्यो इन्डेक्स सयभन्दा तल हुनुपर्छ ।  सीपीसीबीले आगामी सोमबारसम्म प्रदूषणको स्तर थप चिन्ताजनक हुने जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले वायु प्रदूषणका लागि पन्जाब र हरियाणाका खेतमा पराल र ठुटो जलाउनुलाई प्रमुख कारण दाबी गरेका छन् ।

हरेक वर्ष १५ अक्टोबरदेखि १५ नोभेम्बरसम्ममा पन्जाब र हरियाणामा खेतमा पराल जलाइने भएकाले त्यसको असर दिल्लीको वायुको गुणस्तरमा पर्ने गरेको छ । पन्जाब र हरियाणा भारतको राम्रो कृषिउपज हुने ‘ब्रेड बास्केट’ का रूपमा चिनिन्छन् । जबकि सरकारले त्यसरी जलाउन गत वर्ष नै प्रतिबन्ध लगाएको थियो ।

वायु प्रदूषण तथा मौसम अनुमान अनुसन्धान केन्द्रले आगामी साता दिल्लीको वायु गुणस्तर थप बिग्रने जनाएको छ । वायु प्रदूषणकै कारण साफरले सर्वसाधारणलाई मर्निङ वाकमा नहिँड्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रहसमेत गरेको छ । आगामी सोमबार प्रदूषणको स्तर सबैभन्दा बढी रहने पूर्वानुमान गरिएको छ । हरियाणालगायतका क्षेत्रबाट कार्बनका कणहरू बोकेको हावा दिल्लीतर्फ बहिरहेको र त्यसले सोमबारसम्म पूरै दिल्लीलाई ढाक्ने बताइएको छ ।

प्रदूषणका कारण हावामा कार्बनमोनो अक्साइडजस्ता विषालु ग्यासको मात्रा बढ्दै गएको सरोकारवाला निकायहरूले दाबी गरेका छन्, जसका कारण पछिल्लो समय मुटु र फोक्सोका बिरामीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइएको छ ।

भारतको राजधानी दिल्लीले विगत केही वर्षयता वायु प्रदूषणको समस्या बेहोर्दै आएको छ । सन् २०१६ मा हावामा प्रदूषणको स्तर मापन गर्ने एक्यूआईको स्तर सबैभन्दा बढी ९०० मापन गरिएको थियो ।

 

प्रकाशित मिति: : 2019-10-21 13:16:34

प्रतिकृया दिनुहोस्