सानोमा मलाई मेरो सबैभन्दा ठूलो दुश्मन आमा हो जस्तो लाग्थ्यो। अहिले सोच्दा मेरो त्यो अज्ञानताप्रति हाँसो उठेर आउँछ। सायद त्यही अज्ञानताले गर्दा होला आमाले भनेको सानोमा मैले कहिल्यै टेरिन। आमालाई टेरिन भनेर बुबाले मलाई एकदमै सम्झाउँनुहुन्थ्यो तर कस्तो बुद्धि होला है त्यतिखेर यसोभनेर बुबाले आमाको पक्ष लिनुभयो भनी उल्टै बुबासँगै नै थुस्केर बस्थे।
स्कूलको लागि विहानै आठ बजे तयारी हुनुपथ्यो तर म भने त्यतिखेर पनि उठ्नै नमान्ने। ‘विहान चाँडो उठ्नू, एकछिन पढ्नू, होमवर्कहरु चेक गर्नू तर यसरी कुम्भकर्ण भएर’ भनेर सिरक हटाइदिनुहुन्थ्यो। अनि मलाई रीस उठिहाल्थ्यो अनि के चाहियो रोएर घरै उठाइदिन्थे। आमा घरमा सबैलाई किन कराउनुहुन्छ भन्नेतिर मैले कहिल्यै सोचिन तर यति मात्रै सोच्थे कि घरमा सबैभन्दा धेरै कराउने आमा हो र आमा नै सबैको दुश्मन हो।
मलाई विहान आमाले जर्वजस्ती उठाएर मात्रै पुग्थेन। उठ्ने वित्तिक्कै बेलुकीको तामाको लोटामा राखेको एकगिलास पानी पिउनै पथ्यो अनि एकछिन पछि ठूलो माने गिलासले एक गिलास दूध पिउनै पथ्यो। म बुबालाई चिया र पाउरोटि खान्छु भनेर जिद्दि गर्ने तर आमा मलाई चिया पकाइदेला फेरि भनेर बुबालाई पहिल्यै सर्तक गराउने।