नाकाबन्दीका बेला भारतलाई हराउँदाको पुरस्कार बल्ल खेलाडीलाई

तस्बिरः बिएल

२०७२ फागुनमा भारतलाई उसैको भूमिमा पराजित गर्दै नेपालले २३ वर्षपछि दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिताको पुरुष फुटबलतर्फ स्वर्ण जितेको थियो।

एकातिर लामो अन्तरालमा अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुशी भएका नेपालीहरुले अर्कातिर त्यसैबेला भारतले लगाएको नाकाबन्दीको जवाफ फुटबल टिमले दिएको भन्दै खुशी मनाए।

स्वदेश फर्केको नेपाली टोलीले भव्य स्वागत पायो। एयरपोर्टबाट खेलाडीहरुसहितको विजयी र्याली दशरथ रंगशाला पुग्यो र त्यहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद सदस्य तथा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले उपाधि विजेता खेलाडीलाई सरकारले जनही ५–५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे।

तर तीन वर्षसम्म पनि खेलाडीहरुले उक्त रकम पाएनन्। त्यसबेला सरकारले २ लाख रुपैयाँ त दियो तर बाँकी तीन लाख रुपैयाँ पुरस्कार भने उधारै राख्यो।

मण्डलपछि दलजीत श्रीपाइली र राजेन्द्र केसीले युवा तथा खेलकुद मन्त्रालय सम्हाले तर पनि पुरस्कार नपाएपछि भने खेलाडीहरुले उक्त बाँकी पुरस्कार रकम पाइने आशा मारिसकेका थिए।
घोषणा भएको तीनवर्षसम्म बिहीबार बल्ल पुरस्कार रकम पाउँदा खेलाडीहरुले आशा मारिएको पुरस्कार पाएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: : 2019-05-03 09:06:42

प्रतिकृया दिनुहोस्