डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री

तस्बिरः नयाँ पत्रिका

नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटोमै बिक्री गरिएको छ, जुम्ला र सुर्खेतबाट ल्याउने चामल पनि पुगेको छैन,’ मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने, ‘गाउँमा चामल छैन ।’

सरकारी अनुदानमा उपलब्ध गराइने चामल ठेकेदारमार्फत ढुवानी हुने गरेको छ । यसपटक बिसी ट्रेडर्स, सल्यानलाई ठेक्का दिएको थियो । ठेकेदार जनक बुढाले खाद्य संस्थानका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमै एक हजार क्विन्टल चामल रुकुममा बिक्री गरेका हुन् । नेपाल खाद्य संस्थान, डोल्पाका प्रमुख कमलराज पाण्डेले बाटोमै चामल बिक्री भएको स्वीकारे । ‘यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको र त्यसमध्ये एक हजार क्विन्टल चामल रुकुमको त्रिवेणीका बासिन्दालाई बिक्री गरिएको रहेको छ,’ पाण्डेले भने । मुड्केचुलाका बासिन्दाले चामल नपाएको गुनासो गरेको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति: : 2019-05-03 07:33:59

प्रतिकृया दिनुहोस्