आकाश सधैंझैं नीलो थियो। नीलो होइन, नीऽऽऽऽऽऽलो।
राति बेस्कन पानी परेको थियो।
राति पानी नपरेकै भए पनि आकाश नीऽऽऽऽऽऽलो नै हुन्थ्यो।
हिजो राति मोबाइलको बत्तीले टलक्क टल्किएको हिलोमा क्याचक्याच टेकेर म फोनको नेटवर्क खोज्दै पऽऽऽर थुम्कोसम्म पुगेकी थिएँ।
'म सक्दो प्रयास गर्दैछु, तर ढुक्क हुनुस् भन्न सक्दिनँ।'
बीचबीचमा काटिएर आएको फोनमा यति सन्देश चाहिँ नकाटिइकन आयो। अन्तिम आशाको लहरो टुट्यो। मेरा आँखाबाट दुई डल्ला आँशु पुर्लुक्क गाला हुँदै झरे। उल्टो हत्केलाले गालाको आँशु पुछेर टुक्रुक्क भुइँमा बसेँ।
नजिकै टुटीबिनाको धारोमा हुत्तिहुत्ति आएको पानीले रातको शून्यतासँग विद्रोह गरिरहेजस्तो लाग्थ्यो।
दिउँसो परालको त्यान्द्रोजत्रो आउने पानीलाई हावाले उडाएर आफूसितै लान खोज्थ्यो। केटाकेटीहरू जर्किन, कित्ली र गाग्रो बोकेर धारा वरपर एकअर्कालाई धकेल्दै पालो कुर्थे। पानीको धारो हावाको पासोबाट फुत्किएर जर्किनको मुखमा फर्किने बाटो हेरिरहन्थे।