विशालनगरस्थित सेन्ट्रल प्लाजा अपार्टमेन्टमा हरिकला लामिछानेलाई भेट्दा उनी सोफामा चटक्क परेर बसेकी थिइन्।
उनको सास फुलिरहेको थियो, दम बढेको जस्तो। दम मात्रै होइन, उनलाई मधुमेह, उच्चरक्तचापले पनि गाँजेको छ।
पछिल्लो समय समस्या बढेपछि औषधि गर्ने सिलसिलामा कान्छा छोरा खेमराजसँग काठमाडौं आएकी हुन्। अरूबेला चितवन बस्छिन्।
उनलाई देख्नेबित्तिकै मैले अभिवादन गरेँ। नमस्कार फर्काउन नभ्याउँँदै ८३ वर्षीया हरिकलाले निधारमा लगाएको सुनको 'टिकुली' मिलाइन्।
टिलिक्क टल्किएको टीकामा मैले जिज्ञासा राखेँ, 'ओहो, हजुर त सुनको टीका लगाउनुहुँदो रहेछ नि!'
'रातो टीका लाउन भएन। त्यही भएर सुनको लाको नि,' उनले भनिन्, 'पहिलेको चाहिँ हरायो। गोठमा गाइको पुच्छरले लागेको थियो, कता हरायो कता। नभेटेपछि माइलो छोराले 'आमा पीर नगर्नू' भनेर भोलिपल्ट किनेर ल्याइदियो।'
अरूले नि लाउँछन् यस्तो टीका?