काठमाडौँ – उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।
ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताए ।
“धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ”, उनले भने । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो ।