पुबुदुको 'नेपाल-प्रेम'को अर्को एउटा प्रमाण, क्यानडामा नरेशलाई मौका

पुबुदुसँग नरेश बुढाऐर तस्वीर: क्रिकनेपाल

भर्खरै अमेरिकाले एक दिवसीय (ओडीआई) मान्यता पाएसँगै ‘जादुमयी कोच’ भनेर क्रिकेटरमाझ ख्याति कमाइरहेका पुबुदु दसानायके अहिले आफ्नो टोलीसँगै खुशी मनाइरहेका छन्।‘ओडीआई’ मान्यताले अमेरिकी टीम जति उल्लास मनाइरहेको छ, क्यानडाको एउटा क्रिकेट एकेडेमीभित्र पनि पुबुदुको उसैगरी तारिफ भइरहेको छ।

नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताबाट ‘ओडीआई’ मान्यता पाउँदा अमेरिकी क्रिकेट टीम खुशीमा जति रम्दै थियो, क्यानडाको एउटा क्रिकेट एकेडेमीमा उसैगरी खुशी हुनेमा नरेश बुढाऐर पनि थिए।हामी उनै नरेशको चर्चा गर्दैछौं, जसले नेपाली राष्ट्रिय टोलीबाट धेरैवटा खेल खेलिसकेका छन्।

खुल्दुली लाग्नसक्छ, पुबुदु प्रशिक्षक रहेको अमेरिकाले ‘ओडिआई’ मान्यता पाउँदा क्यानडाको क्रिकेट एकेडेमीमा नेपाली नरेश किन खुशी? ‘किनकि, म केही समयदेखि क्यानडामा पुबुदु सरकै स्वामित्वमा रहेको एकेडेमीमा आवद्ध भएर क्रिकेट सिकाइरहेको छु’ नरेशले ब्रेक एण्ड लिंक्सलाई भने, ‘उहाँले पाउँने हरेक सफलतामा हामी खुशी हुन्छौं।’

कुनै समय नेपाली राष्ट्रिय टोलीका ओपनिङ ब्याट्सम्यान नरेश अहिले टोरन्टोको स्कार्बरोस्थित ब्लुमफिल्ड क्रिकेट एकाडेमी सहायक प्रशिक्षक छन्।क्यानडाका स्थायी वासिन्दा पुबुदुको स्वामित्वमा रहेको यो एकाडेमीमा नरेशले फरक–फरक उमेर समूहका खेलाडीलाई क्रिकेट खेल्न सिकाउने गर्छन्।क्यानडामा उनले दोस्रोपल्ट पाएको मौका हो यो।

‘पुबुदु सरको एकेडेमीमा दोस्रोपल्ट आएर क्रिकेट सिक्ने–सिकाउने मौका पाइरहेको छु’ नरेशले क्यानडा बस्ने कारणबारे भने, ‘पहिले ६/७ महिना मात्र बसेको थिएँ, अब चाहिँ अलि लामो बसिएला ।’ सन् २०१६ मा उनी पहिलोपल्ट आएका थिए।भारतीय, श्रीलंकन, बंगलादेशीसँगै नेपाली समुदायको फनि बसोबास रहेकाले त्यहाँ क्रिकेट एकेडेमी सञ्चालित छ।

‘स्कार्बरोमा त्रिकेट क्रेज धेरै देखिन्छ’ नरेशले एकेडेमीबारे सुनाए, ‘हामी अन्डर-१४, अन्डर-१६, अन्डर-१८ र सिनियर टिमलाई सिकाइरहेका छौं।’उनले मंगलबार, शुक्रवार र आइतवार बेलुकीपख एकेडेमीमा प्रशिक्षण दिन्छन्।मुख्य प्रशिक्षक पुबुदु स्वयं रहे पनि उनी कम बस्ने भएकाले अष्ट्रेलियन क्रिकेटर डेभिड प्याटरसनले त्यो जिम्मेवारी सम्हाल्दैछन्।

‘आफ्ना अनुभव र जानेका टेक्निक प्रयोग गर्दै क्रिकेट सिकाइरहेको छु’ पोखरा प्रिमियर लिग खेल्न स्वदेश जानसक्ने सम्भावना औंल्याउँदै नरेशले सुनाए, ‘समय मिलाएर आफू पनि अभ्यास गरिरहेको छु, सिक्ने सिकाउने दुबै भइरहेको छ।’ पुबुदुले नरेशलाई दुईबर्षे सम्झौतामा एकेडेमीको सहायक प्रशिक्षक बनाएर नेपालबाट बोलाएका हुन्।

एकेडेमीबाटै आवासीय सेवा सुविधा पाएका नरेशले ‘पारिश्रमिक पनि सन्तोषजनकै पाइरहेको’ बताउँदै नेपाल आउजाउ भइरहने बताए।पुबुदुको नेपाली क्रिकेट र त्रिकेटरप्रति लगाव र सद्भाव त छँदैछ, त्यसमाथि नरेशमा सिक्ने र सिकाउने हुटहुटी भएकै कारण उनलाई क्यानेडियन क्रिकेट एकाडेमीमा यो मौका जुरेको हो।

२८ बर्षअघि कञ्चनपुरमा जन्मिएका नरेश दाहिने हाते ब्याट्सम्यान हुन्।नेपाल आर्मी क्लवमा आवद्ध उनले घरेलु प्रतियोगिताहरुमा धेरैवटा राम्रा प्रदर्शन गरेको रेकर्ड छ।उनले सन् २०१४ को टी– २० विश्वकपमा नेपाली टोलीबाट खेलेका थिए।त्यसबाहेक उमेर समूह र राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन्।पछिल्ला दिनमा भने लयमा नरहँदा उनी राष्ट्रिय टोलीमा परेका थिएनन्।

पुबुदुले यसअघि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र बलर बसन्त रेग्मीलाई पनि क्यानडामा क्रिकेट खेल्ने अवसर मिलाइदिएका थिए।झण्डै चार बर्ष नेपाली क्रिकेटको मुख्य प्रशिक्षक रहँदा पुबुदुको नेपाल र नेपाली क्रिकेटरसँग गज्जबको सम्बन्ध थियो।सन्दीप लामिछानेलाई पुबुदुले नै चितवनबाट काठमाडौं ल्याएका थिए।

सन् २०११ मा नेपाली राष्ट्रिय टोली सम्हालेका श्रीलंकन मूलका पुबुदुले डिभिजन ४ मा रहेको नेपाललाई डिभिजन १ सम्म पुर्याउन सफल भएका थिए।उनकै प्रशिक्षणकालमा नेपालले टी–२० विश्वकप खेल्ने मौका पायो।त्यसपछि नेपाली क्रिकेटले देशैभर फैलने मौका पायो र अन्तर्राष्ट्रिय जगतमा पनि नाम राख्न सफल भयो।

पुबुदु नेपालबाट २०१५ नोभेम्बरमा क्यानडा फर्केलगत्तै अमेरिकी त्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए।अमेरिकी टोलीलाई ‘चमत्कारिक’ प्रशिक्षण गर्दै ‘ओडिआई’ मान्यता लिँदा पुबुदु जति खुसी मनाउँदैछन्, उनको सफलताप्रति एकाडेमीमा कार्यरत नरेश र नेपाली राष्ट्रिय टोलीका सदस्यहरु पनि उत्तिकै दङ्ग छन्।त्यसैले त नेपाली कप्तान पारस खड्का पुबुदुलाई ट्वीटरमा लेख्छन्, ‘बधाई, जादुमयी मान्छे ... ।’

प्रकाशित मिति: : 2019-04-29 07:14:34

प्रतिकृया दिनुहोस्