आङछिरिङ शेर्पाको कम्पनीलाई ऐन मिचेर ८० वर्षसम्म पाथीभरा केबलकार चलाउने अनुमति

तस्वीर:काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, वैशाख १५ : पूर्वी नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने केबलकार निर्माण गरी व्यापारिक रुपमा सञ्चालन गर्न एक निजी कम्पनीलाई नियम–कानून मिचेर अनुमति दिइएको फेला परेको छ।

ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलबाट १२ किलोमिटर उत्तर–पूर्वमा पर्ने काफ्लेटार (ठूलो फेदी) देखि पाथीभरा मन्दिर जाने केबलकार बनाई ८० वर्षसम्म निर्बाध सञ्चालन गर्न फुङलिङ नगरपालिकाले पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.लाई अनुमति दिएको हो। 

यो केबलकार कम्पनीमा गत फागुन १५ गते पाथीभरा क्षेत्रमै हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायतको लगानी छ। शेर्पाले आफ्नो केबलकार परियोजना देखाउन नै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतलाई त्यहाँ लगेका थिए। मन्दिर दर्शन त केबल बहाना थियो।

प्रचलित कानून अनुसार सरकारी जग्गा ३० वर्षभन्दा बढी कुनै कम्पनीलाई लिजमा दिन पाइँदैन। तर, प्रधानमन्त्री केपी ओलीसँग निकट रहेको मानिने आङछिरिङ शेर्पाको स्वामित्वमा रहेको कम्पनीले नियमअनुसार पाउने अवधिमा ५० वर्ष थपेर ८० वर्षसम्म केबलकार सञ्चालन गर्ने अनुमति प्राप्त गरेका थिए। 

फुङलिङ नगरपालिकासँग भएको सम्झौतामा आङछिरिङ शेर्पाको कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार सेवा सञ्चालन गरेवापत राज्यलाई कति वर्षमा कति राजस्व तिर्ने भन्ने तोकिएकै छैन। राजस्व दर तथा अन्य शर्तमा सहमति नजुटी नै शेर्पाले आफ्नो राजनीतिक सम्बन्धको फाइदा उठाउँदै केबलकार सञ्चालन गर्ने अनुमति लिएको देखिन्छ। उनलाई केबलकारको लाइसेन्स दिन जोडबल गर्ने फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल पनि प्रधानमन्त्री ओलीकै पार्टीका हुन्।

प्रकाशित मिति: : 2019-04-29 00:56:05

प्रतिकृया दिनुहोस्