क्यालिफोर्निया : केशव भट्टराईको काठमाडौंमा दुई बेडरूम भएको घर थियो। परिवार नातागोता सबै मिलेर दशैं मनाउँथे। एकअर्कालाई कथा सुनाउँथे। उनको एउटा पसल पनि थियो। कार्यालयका लागि आवश्यक सामग्री बिक्री वितरण गर्थे।
त्यसपछि २०७२ मा विनाशकारी भूकम्प गयो। वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्पमा परि झण्डै नौ हजारले ज्यान गुमाए। बीस हजारभन्दा धेरै घाइते भए। केशवको घरसहित धेरै घर भत्किए। भूकम्प गएको केही घण्टामै लाखौं मानिससँगै उनको परिवार पनि विस्थापित भयो।
अमेरिकी सरकारको ‘टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस)’ अन्तर्गत ५६ वर्षीय भट्टराईले अमेरिकामा शरण पाए। युद्ध वा प्राकृतिक विपद्को चपेटामा परेका देशका मानिस जो सुरक्षित घर फर्किन सक्दैनन्, टिपिएसले उनीहरूलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिएको छ। सुरूमा करिब नौ हजार नेपाली आप्रवासीलाई टिपिएस दिइएको थियो। भट्टराई पनि टिपिएस अन्तर्गत नै नर्दन क्यालिफोर्नियाको सन्निभेलमा बसे। एउटा ग्याँस स्टेसनमा क्यासियरको काम पनि पाए।
यही जुनदेखि नेपाली र होन्डुरसवासीको टिपिएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयले भट्टराईको नयाँ जीवन हल्लायो। फलस्वरूप उनी र अन्यले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीविरूद्ध एक लाखभन्दा धेरै मानिसको टिपिएस गैरकानूनी रूपमा खारेज गर्नबाट रोक्न माग गर्दै फेब्रुअरीमा दर्ता गरिएको मुद्दालाई साथ दिए।
नेपाली समुदायबाट यो नाटकिय प्रतिरोध भएको थियो। ट्रम्पको अध्यागमन नीतिबारे चलिरहेको मुद्दामा नेपाली समुदायले सधैं ‘लो प्रोफाइल’ धारण गरेको थियो।
‘उनीहरू देशनिकाला गरिन्छ भनेर एकदमै डराउँछन्,’ इनेपालिज डट कमकी सम्पादक सच्ची मैनालीले भनिन्,‘उनीहरू निकै आत्तिएका छन् तर खुलेआम देखिदैंन।’