एनआरएनका नाथनले ५ स्वर्ण जितेर सबैलाई उछिने

तस्बिरः बिएल

वृहत राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको तर्फबाट पहिलोपल्ट सहभागी नाथन दोर्जी शेर्पाले पुरूष पौडीमा सबैलाई उछिनेका छन्।

उनले आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने।

अमेरिकाको न्युयोर्क शहरमा बसोबास गर्ने नाथनले बुधबार अन्तिम दिन १ सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले १ मिनेट शून्य ४ दशमलव ०६ सेकेन्डमा दुरी पुरा गरेका थिए।

यसअघि यो कीर्तिमान प्रशान्त राजको नाममा थियो। उनले १ मिनेट ११ दशमलव ५३ सेकेन्डमा पुरा गरेका थिए।

नाथनले पुरूष २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण जितेका थिए। उनले ८ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेका थिए। यस्तै, २ सय मिटर बट्टरफ्लाई र ४ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितेका थिए।

उनी १ सय मिटर बट्टरफ्लाईमा भने स्वर्णबाट बञ्चित भए। उनले यो स्पर्धामा काँस्यमा चित्त बुझाउनु परेको थियो। त्रिभुवन आर्मीका अनुभव सुब्बा र नेपाल पुलिसका सैयद हमजा साहबीचको प्रतिस्पर्धामा उनले १ मिनेट ०१ दशमलव ७५ सेकेन्डमा दुरी पुरा गर्दै काँस्यमा चित्त बुझाएका थिए।

प्रकाशित मिति: : 2019-04-24 21:07:26

प्रतिकृया दिनुहोस्