शोफामुनि बम राख्नेको अझै भएन पहिचान, कम्पनी नै नक्कली

तस्बिरः पहिलोपोष्ट

बसुन्धाराको ओसिस क्याफेसँगै जोडिएको घरमा फेला परेको सकेट बम कसले र किन राखेको भन्ने कुरा अझै खुल्न सकेको छैन।

सुरूमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको आशंका भए पनि पुष्टि भने हुन सकेको छैन।

नेपाल प्रहरीको टोलीले बम डिस्पोज गर्न नसक्ने देखिएपछि नेपाली सेनाको टोली झिकाएर डिस्पोज समेत गरियो। प्रहरीले घरको तेस्रो तलाको कोठाभित्र सोफामुनि बम फेला परेको थियो। ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’ को कार्यालयभित्र बम भेटिएपछि प्रहरीले कार्यालयका पाँच जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको गरेको थियो। तर अहिलेसम्म बम कसले राख्यो र किन भन्ने खुल्न सकेको को छैन।

प्रहरीले ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’ को कार्यालयभित्र बम राखेको भेटिएकाले प्रहरीले कम्पनीका सञ्चालक प्रकाश सुवेदीसहित अन्य कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

अहिले सुवेदी विरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी फणिन्द्र प्रसाइले जानकारी दिए ।

फोन गर्ने को थिए?

सोफामुनि बम भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। फोनमा भने जस्तै शोफामुनि बमसमेत भेटियो। प्रहरीले सेनाको सहयोगमा बम डिस्पोज समेत गरायो। तर फोन कसले गर्यो? उसलाई बमको बारेमा कसरी थाहा भयो? लगायतको कुरा गर्न फोन गर्ने व्यक्तिसँग सम्पर्क गर्न खोज्यो। तर, सम्पर्क भएन।

‘मोबाइल अहिलेसम्म अफ छ। थप अनुसन्धान गरिरहेका छौं। तर, केही भेटिएको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

कम्पनी गैरकानुनी

‘द वर्ल्ड कल्चर आर्ट एसोसिएसन अफ नेपाल’ को  कम्पनीसमेत गैरकानुनीक रूपमा सञ्चालन भएको भेटिएको छ।

कम्पनीले कला तथा संस्कृतिको विकासको लागि काम गर्ने भन्दै खोलिए पनि दर्ता नभएको भेटिएको हो।

कम्पनी दर्तासमेत भएको छैन। पक्राउ परेका सुवेदीले कम्पनीमार्फत कोरिया कामदार पठाउने गरेको बयान दिएका छन्। बयानको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ। कम्पनीका अर्का मुख्य सञ्चालक भने फरार  छन्। ‘घटना भएको दिन अस्पतालमा भर्ना भएको जानकारी आयो। हामी अस्पताल पुग्दा डिस्चार्ज भएको भेटियो। खोजी गरिरहेका छौं,’ वृत्त इन्चार्ज प्रसाइले भने।

कम्पनीले युवालाई कोरिया पठाउने भन्दै ठगी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। ठगिएका युवा अथवा कसैले रिसमा बम राखेको हुनसक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2019-04-24 08:30:57

प्रतिकृया दिनुहोस्