धोनीको चेन्नईलाई विराटको बैंग्लोरले १ रनले हरायो

तस्बिरः एजेन्सी

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सलाई हराउँदै विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो जित निकालेको छ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गरेको हो।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गर्दै ८४ रन बनाए पनि अन्तिम बलमा टोलीलाई जिताउन सकेनन्।

चेन्नईका लागि अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन जोड्नुबाहेक कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर छुन सकेनन्।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि २६ रन आवश्यक रहेको अवस्थामा धोनीले तीन छक्का र १ चौकासहित २४ रन मात्र बनाउन सके। अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेको अवस्थामा धोनीले बाइ रन लिनेक्रममा एसएन ठाकुर रन आउट भए र टोली १ रनले हार्न पुग्यो।

बैंलोरका लागि डाले स्टेन र उमेश यादवले २-२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो।

बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए।

कप्तान विराट कोहली ९ रनमै आउट भए।

चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

चेन्नईलाई हराएसँगै बैंगलोरले लिगमा लगातार तेस्रो जित निकालेको छ। बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ।

पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ। चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ। दोस्रो र तेस्रोमा समान १२-१२ अंकसहित मुम्बई र दिल्ली छन्।

प्रकाशित मिति: : 2019-04-22 00:26:12

प्रतिकृया दिनुहोस्