जलवायु न्याय र मर्यादित श्रमका मागमा ऐक्यबद्धता
जलवायु न्याय र मर्यादित श्रमका विषयमा केन्द्रित ‘अभियान सम्मेलन २०२५’ आगामी ५-६ मेमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।
एक्सनएड इन्टरनेशनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपालको संयुक्त आयोजना र सञ्चारिका समूहको सहकार्यमा सम्मेलन हुन लागेको हो।
दुई दिने राष्ट्रियस्तरको कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव झेलिरहेका समुदायहरू तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको वास्तविक अवस्था उजागर गर्नुका साथै समाधान खोज्न विविध सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
आयोजक संस्थाहरूले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलनले संवाद, सहकार्य र सिर्जनात्मक सहभागितामार्फत समावेशी वातावरण निर्माण गर्नेछ। जसले दीर्घकालीन प्रणालीगत परिवर्तनतर्फ जोड दिनेछ। सम्मेलनमा युवा अभियन्ता, अनौपचारिक क्षेत्रका श्रमिकहरू, कृषकहरू, नागरिक समाजका प्रतिनिधिहरू, सरकारी निकायहरू तथा नीतिनिर्माताहरूको सहभागिता रहनेछ।
नेपालमा हाल करिब ८० प्रतिशत श्रमिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत छन्। जसमा महिला, दलित, आदिवासी र अन्य सीमान्तकृत समुदायहरू छन्। न्यून ज्याला, सामाजिक सुरक्षा नहुनु, जोखिमयुक्त र असुरक्षित कार्यस्थितिको चुनौती झेलिरहेका यी श्रमिकहरूको हकहितका लागि सम्मेलनमा न्यूनतम तथा न्यायोचित ज्यालाको सुनिश्चितता, सुरक्षित तथा हिंसामुक्त कार्यस्थलको प्रत्याभूति, व्यावसायिक स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी, सामाजिक सुरक्षासहित रोजगारीको सुनिश्चितता र लैङ्गिकमैत्री सार्वजनिक सेवा प्रणालीको विकासलगायत मागहरू उठाइनेछ।
विश्व बजारमा करिब २ अर्ब कामदारहरू अनौपचारीक श्रम क्षेत्रमा संलग्न छन्। जसमा ६१% श्रमिक महिलाहरू छन्। यो क्षेत्रमा काम गर्ने श्रमिकहरू न्यून र विभेदपूर्ण ज्याला उच्च जोखिम तथा हिंसा जस्ता समस्याबीच संघर्ष गरिरहेका छन्। हरेक क्षेत्रबाट महिलाहरू जोखिममा छन्।
यता, जलवायु परिवर्तनका सन्दर्भमा नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान दिए पनि यसले झेल्नु परेका असरहरू अत्यन्त गम्भीर छन्। पहिरो, बाढी, खडेरी, असिनापात, खेतीयोग्य जमिनको क्षति र जल स्रोतको अनिश्चितताका कारण विशेष गरी कृषकहरू, महिला, दलित, आदिवासी र गरिब समुदायहरू सिधा प्रभावित भइरहेका छन्।
यिनै चुनौतीहरूप्रति राज्यको ध्यानाकर्षण गराउँदै सम्मेलनमा जलवायु प्रभावित महिला, युवा र बालबालिकाहरूको आवाज राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने, दिगो र नवीकरणीय ऊर्जामा आधारित लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रलाई जवाफदेही बनाइनुपर्ने, जलवायु क्षति सम्बोधनका लागि पारदर्शी वित्त व्यवस्था हुनुपर्ने, र जलवायु प्रतिरोधात्मक पूर्वाधार तथा जीविकोपार्जनका उपायहरू सरकारी नीति तथा बजेटमा समावेश गरिनुपर्ने मागहरू अगाडि सारिनेछन्।
५ मे बिहान ८ बजे शान्ति बगैंचाबाट र्याली निकालेपछि सम्मेलनको सुरुवात हुनेछ। जसमा सहभागीहरूले रत्नपार्कसम्म मार्च गर्दै जलवायु न्याय र श्रमिक अधिकारका पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्नेछन्।
त्यसपछि उद्घाटन समारोह प्रज्ञा प्रतिष्ठानमा हुनेछ, जहाँ सरोकारवाला निकायहरू, संघसंस्थाका प्रतिनिधिहरू र सहभागीहरूले सम्बोधन गर्नेछन्।
पत्रकार सम्मेलनमा युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन्द्र खतिवडा, एक्सनएड इन्टरनेशनल नेपालका क्याम्पेन म्यानेजर राहुल देवान, नेपाल महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारी, सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी लगायत वक्ताहरूले अभियान, सार्वजनिक संलग्नता र सञ्चारको भूमिकाबारे धारणा राखेका थिए।
सम्मेलनको पहिलो दिन विविध सभाहलहरूमा समानान्तर रूपमा विभिन्न सत्रहरू सञ्चालन हुनेछन्, जसमा व्यावसायिक स्वास्थ्य सुरक्षा, साझा स्रोतको संरक्षण, जलवायु वित्त, श्रमिक अधिकार लगायतका विषयमा गहन छलफल गरिनेछ।
दोस्रो दिन नीति संवाद सत्रहरू सञ्चालन गरिनेछ, जसमा वन तथा वातावरण मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरिनेछ। सम्मेलनको अन्त्यमा मागपत्रहरू तयार पारेर सम्बन्धित मन्त्रालयहरूमा बुझाइनेछ।
कार्यक्रम सिर्जनात्मक अभिव्यक्तिमा पनि समृद्ध हुनेछ। सहभागीहरूको अनुभव, पीडा र चेतनालाई उजागर गर्न कथा वाचन, कविता वाचन, फोटो प्रदर्शनी, फोरम थिएटर, लाइभ आर्ट, पोडकास्ट, र स्पिकआउट बारजस्ता विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरिने आयोजकहरूले जनाएका छन्।
कार्यक्रमलाई विशेष बनाउँदै आयोजकहरूले ‘जलवायु न्याय र मर्यादित श्रम छुट्टाछुट्टै होइन, गहिरो रूपमा जोडिएका जनसंघर्षहरू हुन्’ भन्ने दृष्टिकोणलाई केन्द्रमा राखेका छन्।
उनीहरूको विश्वास छ- यो सम्मेलन जनशक्तिको सामूहिक प्रयासबाट उठेका आन्दोलनहरूलाई अझ संस्थागत, संगठित र प्रभावशाली बनाउने महत्वपूर्ण अवसर हुनेछ।