‘ट्रम्प प्रशासनका कारण विश्वव्यापी रुपमा मानवअधिकार संकटमा पर्दैछ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाएका कारणले विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कटमा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

मंगलबार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् । 

‘अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौं मानिसहरूको जीवनलाई जोखिमततिर धकेलिरहेको ट्रम्प प्रशासन मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी दिएको छ,’ उनले भने।

यता एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्य गर्दा यो संसार धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्ग पारिदिएको बताएकी छन्। 

त्यस्तै एम्नेस्टीको प्रतिवेदनमा विश्वको मानव अधिकारको अवस्थामा असहमतिको बर्बर र व्यापक दमन, सशस्त्र द्वन्द्वको विनाशकारी विस्तार, जलवायु सङ्कट संबोधनका लागि अपर्याप्त प्रयास र आप्रवासी, शरणार्थी, महिला, बालिका तथा एलजीबीटीआई व्यक्तिहरूको अधिकारविरुद्ध विश्वभर बढ्दो प्रतिकूल प्रवृत्तिलाई दस्तावेज गरेको छ।

यदि विश्वव्यापी रूपमै यस प्रवृत्तिको दिशा परिवर्तन गरिएन भने अस्थिर र अशान्त सन् २०२५ मा अवस्था अझै बिग्रने एम्नेस्टीले जनाएको छ।

‘आफ्नो दोस्रो कार्यकालको सय दिन पूरा हुँदै गर्दा राष्ट्रपति ट्रम्पले विश्वव्यापी मानवअधिकारप्रति चरम घृणा देखाएका छन्। हाम्रो संसारलाई अझ बढी सुरक्षित र न्यायपूर्ण बनाउनका लागि तर्जुमा गरिएका अमेरिकन तथा अन्तर्राष्ट्रिय संस्था र पहलहरूलाई उनको सरकारले छिटोभन्दा छिटो र जानाजान यस्तो निशाना बनाएको छ। बहुपक्षीयता, शरण, जातीय तथा लैङ्गिक न्याय, विश्वव्यापी स्वास्थ्य र जीवनरक्षक जलवायु कार्यजस्ता अवधारणामाथि उनले गरेको व्यापक आक्रमणले यी सिद्धान्त र संस्थाहरूले पहिल्यैदेखि भोगिरहेका विशाल क्षतिलाई झन् गम्भीर बनाइरहेको छ र अन्य अधिकारविरोधी नेता तथा आन्दोलनहरूलाई समेत यस्तो आक्रमणमा सामेल हुन हौसला प्रदान गरिरहेको छ,’ कालामारले भनेकी छन्।

उनले थपेकी छन्, ‘तर हामी प्रष्ट हुनुपर्छ: यो विकृति राष्ट्रपति ट्रम्पका कार्यहरूभन्दा धेरै गहिरो छ। हामीले वर्षौँदेखि संसारका विभिन्न देशहरूमा विनाशको यन्त्रका रूपमा स्वेच्छाले स्वतन्त्र काम गरिरहेका आकांक्षी र निर्वाचित नेताहरूबाट फैलाइएको अधिनायकवादी अभ्यासहरूको विस्तार क्रमिक फैलिंदै गइरहेको देखेका छौं। जसै यी नेताहरूले हामीलाई अशान्ति र क्रूरताको नयाँ युगतर्फ तानिरहेका छन् यस्तो समयमा स्वतन्त्रता र समानतामा विश्वास गर्ने हामी सबैले अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मानवअधिकारमाथि चुलिँदै गएको चरम आक्रमणलाई सामना गर्न आफूलाई दृढ र कठोर बनाउनै पर्छ।’

प्रकाशित मिति: : 2025-04-29 16:57:00

प्रतिकृया दिनुहोस्