प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर लगाएकाे आरोप प्रमाणित गर्न चुनाैती दिएका छन्।
आइतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताएका हुन्।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेकाे बताउँदै स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको उनकाे भनाइ थियाे।
भिडियो-
000
प्रहरीसँगको झडपमा परी ६२ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्।
आइतबार दिउँसो नयाँ बानेश्वमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप हुँदा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन्।
घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको छ।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको नेपाल शिक्षक महासंघको आरोप छ।
000
शिक्षक आन्दोलनमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्।
आइतबार नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपको समाचार सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको थिइन।
घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
000
सहकारी ठगीको आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित आफ्नै निवासबाट पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।
उनी कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन्।
उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पुरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न थालेकाे हाे।
000
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
गत बिहिबार थापाले ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र अभिमा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन्।
निवेदनको पहिलो पेसी मंगलबार तोकिएको छ।
000
नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आफ्ना सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर्न चुनौती दिएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यस्तो चुनौती दिएका हुन्।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा आएका प्रदर्शनकारीले भाटभटेनी सुपर्मार्केट तोडफोड गरी सामान पनि लुटेका थिए।
यसै विषयलाई लिएर राप्रपाका अध्यक्ष लिङ्देनले भाटभटेनीको रक्सी चोर्न कांग्रेसका सहमहामन्त्रीका छोरा पुगेको र प्रहरीले उनलाई पक्राउ गरेर केही घण्टामै छोडेको आरोप लगाएका थिए।
000
जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो।
यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो।
ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो ।
000
नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै उनले प्रधानमन्त्रीले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताएका हुन्।
सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको उनको आरोप थियाे।
000
नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ।
सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पार्दै आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने उल्लेख गरेकाे छ।