‘श्री ५’ लेख्ने पूर्वराजालाई कारबाही गर्न एमाले सांसदको माग

नेकपा एमालेको सांसद ठाकुर गैरेले पूर्वराजाले नेपालको संविधानले नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ? भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘हिजो अत्यन्त लज्जास्पद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा. फणिराज पाठक, संवाद सचिवका नामबाट वक्तव्य प्रकाशित भयो। त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव  भन्ने कहाँ छ?’

साथै उनले यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने बताए। उनले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे।

उनले भने, ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्र वीरविक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु।’

पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ। उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन्।

प्रकाशित मिति: : 2025-04-27 13:22:00

प्रतिकृया दिनुहोस्