पार्टीको जिम्मेवारीबाट अलग हुँदै सुमना

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने, आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव लगेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिने भएकी छन्। आज दिउँसो बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा प्रस्ताव पेश गर्ने बताएकी छन्।

अब आफू प्रतिनिधिसभाको सदस्यको जिम्मेवारीमात्रै रहेर काम गर्ने र पार्टीभित्रको पद नओगट्ने भन्दै उनले राजीनामा दिन लागेको बताइन्। 

पार्टीमा सहमहामन्त्री पद नभए पनि उनी सांसद भने रहिरहनेछिन्। यसअघि नै उनले राजीनामा प्रस्ताव लैजाने बताएकी थिइन्। चैत १७ गतेको बैठकमा प्रस्ताव बुझाने तयारी गरेकी उनलाई त्यो बेला पार्टी सभापति रवि लामिछानेले रोकेका थिए। त्यही दिनदेखि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका थिए। 

तर त्यसको केही दिनपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको थियो। अहिले लामिछाने कारागारमै छन्। 

आजै रास्वपाको केन्द्रीय समिति बैठक पनि बस्दैछ। कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ। रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो । तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रम अन्तर्गत चितवनमा सभा गरे पनि त्यसपछि यसलाई निरन्तरता दिन सकेको छैन।

बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए । यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: : 2025-04-17 11:03:00

प्रतिकृया दिनुहोस्