देशका मुख्य मुख्य राजमार्गहरू अहिले पनि अवरुद्ध भएको हुँदै नेपाल प्रहरीले सावधानीपूर्वक यात्रा गर्न अपिल गरेको छ। बुधबारदेखि देशका विभिन्न भागमा वर्षा सुरु भएको थियो।
केही राजमार्गका सडकखण्डहरू अहिलेको वर्षाका कारण र केही पहिला नै अवरुद्ध भएका छन्। केही खण्डमा मर्मतसम्भारको काम भइरहेको छ।
नेपाल प्रहरीका अनुसार पूर्वपश्चिमका विभिन्न पाँच राजमार्गका सडकखण्डहरू एकतर्फी सञ्चालनमा आएका छन्।
राप्ती राजमार्गको रुकुम पश्चिम, सुर्खेत-हुम्ला सडक, तथा जाजरकोटका मूल सडकहरू पूर्णरुपमा अवरुद्ध छन्।
बुधबार साँझदेखि भएको वर्षाका कारण अरनीको राजमार्ग अन्तर्गत भक्तपुर सडकखण्डको साँगामा पहिरो खसेपछि बिहानैदेखि यो सडक पनि अवरुद्ध भएको छ।
पहाड काटेको धुलोले दाउन्ने सडक खण्डमा सवारीसाधन चलाउनै गाह्रो भएपछि बुधबारदेखि नै उक्त सडकमा दैनिक ४ घण्टाका लागि सवारी बन्द गरेरै सडक बनाउन थालिएको थियो। बर्षाका कारण अहिले उक्त खण्ड हिलाम्मे भएको छ।