करिब २ वर्षदेखि अस्तव्यस्त दाउन्ने सडकखण्डमा आजदेखि सवारी साधन रोकेर सडकको विस्तारको काम हुने भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा पर्ने दाउन्नेको उकारो-ओरालो घुम्तीमा वर्षौंदेखि सडकको काम हुन सकेको छैन। जसका कारण करिब १४ किलोमिटरको यो सडक पार गर्न अहिले लगभग ६-७ घण्टासम्म लाग्ने गरेको छ।
आजदेखि यो सडकखण्डमा ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र आगामी वैशाख १ गतेबाट १५ दिनसम्म रातको समयमा सडक विस्तारको काम हुनेछ। त्यसका लागि वैशाख १ गतेबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी रोकिनेछन्।
त्यसका लागि ठूला र मालबाहक सवारी साधनहरू पूर्वमा अरुणखोला तथा चोरमारा र पश्चिममा ज्यामिरे क्षेत्रमा रोकिनेछन् भने यात्रुबाहक र साना सवारीलाई पूर्वमा दुम्कीबास तथा पश्चिममा बर्दघाट चिसापानीमा रोकिनेछन्।
त्यसको सट्टामा बैकल्पिक मार्ग प्रयोग गर्न सडकविभागले अनुरोध गरेको छ। पूर्वबाट पश्चिमतिर जाने सवारी गैंडाकोटबाट कालीगण्डकी करिडोर प्रयोग गर्नसक्नेछन्। पाल्पाको रामपुर हुँदै यो बाटो बुटवल जोडिन्छ। तर लगभग ८ घण्टाभन्दा धेरै समय लाग्नसक्छ। अर्को भनेको मुग्लिन पोखराको बाटो पनि उपयुक्त हुनसक्छ।
त्यस्तै पश्चिमबाट पूर्व आउने सवारीहरूले भने बुटवलबाट पाल्पाको बाटो समाउनुपर्नेछ। यहाँबाट रामपुर भएर कालीगण्डकी करिडोरबाटै गैंडाकोट निस्किन पनि सकिन्छ र पोखरा भएर मुग्लिन पनि आउन सकिन्छ। यो बाटो सजिलो भए पनि अलि लामो पर्नजान्छ।
दाउन्नेमा वर्षौअघिदेखि बाटो विस्तारको काम चलिरहेको थियो। तर फोडिएका पहाड र ढिक्काहरू व्यवस्थित भइनसक्दा त्यहाँ सुख्खायाममा धुलोले बाटै नदेखिने हुन्छ। ठूलाठूला खाडलहरूमा धुलो भरिएका कारण दुर्घटनाको अत्यधिक जोखिम छ। त्यस्तै वर्षायाममा हिलो भएर उत्तिकै सास्ती पनि हुन्छ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ। नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ। १७ अर्बको लागतमा सडक निर्माणको काम भइरहेको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ।