‘आज यारों को मुवारक हो कि सुब्ह–ए–ईद है
राग है मय है चमन है दिलरुबा है दीद है।।’
आबरू साह मुवारकका शेरका पंक्ति हुन् यी।
इस्लाम धर्मावलम्वीहरूको महान पर्व ईद–उल–फित्र (ईद) आज नेपालगन्जमा भव्यताका साथ मनाईदै छ। यो पर्व हरेक वर्ष हिजरी सवंत अनुसार मुस्लिम समुदायमा हर्सोल्लासका साथ मनाईन्छ। नेपालगन्जमा यो पर्वलाई सदभावका रुपमा अन्य धर्मावलम्वीहरूले समेत शुभकामना आदान प्रदान गरेर मनाउने गर्छन्।
धर्म निरपेक्षता हटाएर हिन्दू धर्मको पूनर्स्थापनाको माग गर्ने नेपालगन्जका लोकल ’राजा’ धवलसमशेर राणा स्थानीयहरूसँग हरेक वर्ष ईद मनाउने गर्दथे। तर यो पटक ’लोकल राजा’ ईद मुवारक भन्न नेपालगन्जका गल्ली र घरहरूमा उपस्थित हुन नसक्ने भए। हाम्रो समाज जहाँ ठकुरी र राणा परिवारको वाहुल्यता भएको परिवेशमा राजा र महारानी सम्बोधन खुबै चल्छ। गृह जिल्ला बाँकेमा राणालाई कतिपय नेपालगन्जीयाहरूले ’राजा’ भनेरै सम्बोधन गर्छन्। त्यो उनको लोकप्रियताको बिम्वका रुपमा समेतलिइन्छ नेपालगन्जमा।
नेपालगन्ज शहरका दुई पटक दुई फरक पार्टीबाट निर्वाचित हुने सौभाग्य पाएका पूर्व मेयर माननीय राणा कन्जरभेटिम स्कुलिङ्गका अनुयायी किन नहोउन। भलै राजनीतिको सैध्दान्तिक वहावमा राणा राजतन्त्रात्मक व्यवस्थाका पक्षधर हुन्।
शिरमा मेयर लेखेको क्याप लगाएर दायाँ हात उठाउँदै अभिवादन गरेर डा.धवलसमशेर राणा आईतबार काठमाडौंको अदालत उपस्थित भए।
थुनामा रहेका बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य रहेका धवलसमशेर राणालाई यतिबेला फौजदारी अभियोग लागेको छ। त्यसको सूचना संघीय संसदमा पुगिसकेपछी कानुन प्रक्रिया अघि बढेको छ।
वि.सं. १९५८ सालमा देवसमशेरले नै आफ्नो नेतृत्वमा सरकार रहँदा गोरखापत्रको स्थापना गरेका थिए। तर पनाति धवलसमशेरलाई भने राजावादी आन्दोलनमा हिंसा भड्काउन र प्रेस माथि आक्रमण गर्न उक्साएको आरोप लागेको छ।
धवलसमशेरको पारिवारिक विरासतलाई अलिकति केलाएर हेर्यौं भने राणाकालको उनको परिवार सुधारवादी श्रेणीमा पर्छ। श्री ३ देवशम्शेरका पनाति धवलसमशेर राणाको राजनीतिक स्कुलिङ्गमा भने फेरवदल भईरहन्छ।
थुनामा रहेका बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य रहेका राणालाई यतिबेला फौजदारी अभियोगले डामेको अवस्था छ।
राणाका जिजु हजुरबुवा पुस्ता देखि नै सुधारवादी चरित्रको परिवार देखिन्छ। सत्ताबाट बेदखल गरेर जिजु हजुरबुवालाई भारत निर्वासनमा पठाएपछी राणाको परिवार भारतको (हालको उत्तराखण्ड) मसुरिमा बसेको थियो। चन्द्रसमशेरले करिव ४ दशक पछी यो परिवारलाई नेपाल फर्कन अनुमति दिएका थिए। त्यसयता हजुरबुवा मसुरी शम्सेर र बुवा कैलाशसमशेर नेपालगन्जमै जमेर बसेका हुन्।
वि.सं. १९५७ फागुन २३ गते लालदरवारमा आफ्ना दाजु श्री ३ वीरसमशेर जबरालाई अन्तिम श्रध्दाञ्जली दिएर देवशम्शेर जबरा थापाथलि दरवार फर्किए। त्यहाँबाट नारायणहिटी दरबारमा राजा पृथ्वी विक्रम शाहलाई सुनको असर्फी चढाउँदै दर्शन भेट गरेपछी श्री ३ को पद सहित प्रधानमन्त्री नियुक्त भएका थिए। कमाण्डर इन चिफ,कास्कि र लमजुङ्गको राजाको पद सहित प्रधानमन्त्री हुँदा श्री ३ देवसमशेर ३९ बर्षका मात्रै थिए। वि.सं. १९५८ असार १३ गते सेतो दरवारबाट उनलाई सत्तच्युत गर्दै भाई चन्द्रशम्शेरले सत्ता हत्याएका थिए।
दाजु बीर शम्सेर जबराको निधन भएपछी प्रधानमन्त्री भएका उनै श्री ३ देव शम्सेर जबराका पनाति हुन डा.धवलसमशेर राणा।
संयोग नै भनौं दाजु राजा विरेन्द्र शाहको मृत्युपछि राजा भएका माईला भाई ज्ञानेन्द्र शाह हुन्। ज्ञानेन्द्र शाहसँग शुरुवाति दिनहरूमा सामान्य सम्बन्ध रहेका धवलसमशेर राणाको सम्बन्ध विस्तार हुनमा माओवादी सँग भएको असफल वार्ताले सेतुको काम गर्यो। त्यस यता राप्रपामा बलियो भएर उदाए अनि ज्ञानेन्द्र शाहका नजिकका पात्र हुने कसिलो अवसर जुर्यो नेपालगन्जका धवलसमशेर राणालाई।
वि.सं. २०६० साउन २७ गतदेखि भदौ १ गतेसम्म सरकार–माओवादीबीच शान्ति वार्ता भएको थियो। सरकार–माओवादी शान्ति वार्ता पहिलो चरण बर्दियाको ठाकुरद्वारा रिर्सोटमा भएको थियो। दोस्रो चरण नेपालगन्जस्थित धवलशमशेर रानाको निजि निवासमा भयो। तेस्रो वार्ता दाङको हापुरेमा भएको थियो। वार्ता टोलीमा सरकारका पक्षबाट कमल थापा र प्रकाशचन्द्र लोहनी सहित तत्कालिन विद्रोही माओवादी पक्षबाट डा.बाबुराम भट्टराई र कृष्णबहादुर महरा सहभागी भएका थिए। मध्यस्तकर्ताका रुपमा मानवअधिकारवादी पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना सहभागी थिए।
वार्ता असफल भए पनि राजासँगको सम्बन्ध सुमधुर बनाउन नेपालगन्जका राणा सफल भएको मानिन्छ। साथै उनको वैवाहिक जिवन समेत भारतको कुलिन राजशाही परिवारसँग जुड्नुले उनलाई राजनीतिमा अघि बढ्न अप्रत्यक्ष रुपमा सघाउ पुगेको देखिन्छ।
यद्यपी शिक्षित भएर पनि राणा लोकतन्त्रको पक्षमा भन्दा पनि राजतन्त्रात्मक व्यवस्थाका हिमायती भएर अघि बढे। केही समय सराकरी जागिरे भएका राणा क्रमशः व्यापार व्यवसायमा अघि बढेका थिए।
नेकपा एमालेको राजनीतिक स्कुल अफ थट्सबाट जन प्रतिनिधि भईसकेर पनि उनि त्यहाँ अट्न नसकेर पूर्व पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फ आकर्षित भए। पूर्व पञ्चहरूको फुट हुँदा राप्रपा नेपालमा पनि पुगेका थिए सासंद राणा।
गएको शुक्रबार काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा सहभागि भएर आन्दोलन भडकाउने आरोप लागेका सांसद राणालाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको हो।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेद्वार रहेका राणा विजयी भएका थिए। २९ हजार ५ सय ७७ मतका साथ विजयी भएका थिए। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाएका थिए।
वि.सं.२०५१ सालमा बाँके क्षेत्र नं. २ बाट संसदिय निर्वाचनमा स्वतन्त्र चुनाव लडेका थिए राणाले। त्यस अघि राणा राप्रपाको युवक संघको नेतृत्व गरिसकेका थिए। आफ्नो पहिलो संसदिय चुनावमा असफलता व्यहोरेका राणाले २०५४ सालमा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको मेयर चुनाव जितेका थिए। तर २०६३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका हुन्। पहिलो संविधान सभा २०६४ मा राणा पराजित भएका थिए। ०७० सालमा पनि उनि संविधान सभा चुनावमा पराजित भएका थिए। तर २०७४ सालमा नेपालगन्जको मेयर चुनिएका थिए।
राप्रपाबाटै राजनीति शुरु गरेर स्वतन्त्र छवि बनाउँदै राजनीतिमा लागेका राणा एमाले हुँदै पुनः राप्रमा फर्किएर अहिले महामन्त्री छन्।
पछिल्लो संसदिय निर्वाचनमा एमालेको साथ लिएर प्रतिनिधि सभा सदस्यमा सफलता हात पारेका छन्। प्रजातन्त्र पुनर्स्थापना भएपछी पनि ०४९ सालमा राप्रपाको सहयोगी संगठनमा रहेका राणा बहुदलिय व्यवस्था मान्ने दल एमालेम प्रवेश गरे। तर ०६२–६३को आन्दोलन कै सेरोफेरमा गणतन्त्रात्मक व्यवस्था आउन लाग्दा राणा राजतन्त्रको वकालत गर्ने राजनीतिक दल प्रति आकर्षित भए। त्यसका पछाडी आफ्नो राजनीतिक करियरको सुरक्षा खोजेर हो वा सैध्दान्तिक रुपमा आँफुलाई फरक कित्तामा लैजान हो त्यसको जवाफ राणासँगै होला।
हुन त बाँकेमा पञ्च पृष्ठभूमिका अनुहारले पनि संसदमा पटक पटक जितेको र स्थानीय चुनावमा पनि जितेको गतिलै उदाहरण छन्। उनै राणा स्वयं त्यसको ज्वलन्त चेहेरा हुन्।
राजनीतिक वृत्तमा आस्था आ–आफ्नै हुनसक्छन। लोकतन्त्रमा सबैले आफ्ना मत राख्न पाउँछन्।
सासंद राणा इस्लाम धर्मको एउटा महत्वपुर्ण पर्वका बेला नेपालगन्जमा मनाईने ईदमा ’मिस’ भएको अनुभव भने पक्कै भएको छ। उनको राजनीतिक आस्था जे सुकै होस उनको उपस्थिति नेपालगन्जले पटक पटक खोजिरहेकै हुन्छ। भारतमा क्यान्सर रोगको जटिल उपचार सकेर सामान्य दैनिक जिवनमा फर्किएका राणा व्यवस्था परिवर्तनको आन्दोलनमा लागेर थुनामा परेका छन्। आरोप र आस्थाले मानिसलाई मझधारमा खडा गरिदिन्छ। प्रचलित कानुनको दायरामा कानुनी उपचारमा छन् माननीय धवलसमशेर राणा।
२०७२ सालमा जारी भएको संविधानलाई अंकमाल गरेर सांसद चुनिनुभएका नेपालगन्जका राणाले राप्रपा भित्र आफ्नो पहुँच विस्तार गर्ने अथक प्रयास गरिरहेको देखिन्छ।
थुनामा रहेका पूर्व मेयर तथा माननीय धवलसमशेर राणा ज्यू ईद मूबारक!!