मोटरसाइकलमा अगाडि बच्चा राख्दैमा दुर्घटना हुँदैनः सिताराम हाछेथु (भिडियोसहित)

ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले सरकारले परिमार्जन गर्न खोजेको सवारी ऐनमा कतिपय कुरा व्यवहारिक भएपनि कतिपय कुराहरू भने अव्यवहारिक रहेको बताएका छन्।

उनले नियमहरू जनताले मान्ने हुनुपर्नेमा कतिपय नियमहरू सरकारले जबरजस्ती बनाउने गरेको भन्दै असन्तुष्टि जनाए। 

बीएल मिडियासँगको कुराकानीमा उनले भने, ‘नियम भनेको जनताले मान्ने किसिमको हुनुपर्छ। अनिमात्र सबै जनताले मान्छन्। नियम बनाउने मान्छे कुर्सीमा बसेको हुन्छ। अव्यवहारिक नियम बनाइदिन्छन्। यता नियम पालना गराउने ट्राफिक प्रहरी र जनताबीच द्वन्द्व हुन्छ।’

भिडियो-

उनले बालबालिकाहरूलाई मोटरसाइकलको अगाडि राखेर चलाउन नपाइने भन्ने नियम अव्यवहारिक रहेको दाबी गरेका छन्। उनले अगाडि राख्न नमिल्ने बालबालिकाको उमेर तोकिदिए व्यवहारिक हुने सुझावसमेत दिएका छन्।

भन्छन्, ‘बच्चाहरूलाई अगाडि राखेर मोटरसाइकल चलाउन नपाइने भनेको छ। तर कति वर्ष हो भन्ने तोकेको छैन। ८/१० वर्षभन्दा माथिको बच्चा भए त ठिकै हो। तर ४/५ वर्षका बच्चा भए त पछाडि समातेर बस्न सक्दैन। बरु ट्यांकीमा राख्दा चालकको हातले सेफ्टी गर्छ। थाहा छ- ट्यांकीमा राख्न हुँदैन तर व्यवहारिक पनि त हुनुपर्‍यो नि।’

त्यस्तै उनले आफूलाई अहिलेसम्म छोटो दूरीको मोटरसाइकल यात्रामा अगाडि बच्चा राखेकै कारण दुर्घटनामा परेको थाहा नभएको पनि दाबी गरेका छन्।

प्रकाशित मिति: : 2025-03-17 14:26:00

प्रतिकृया दिनुहोस्