नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भिर आरोपहरू लगाएका छन्। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई लाग्ने यस्ता आरोपहरू भने गालीका रुपमा प्रचलित नै छन्।
तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्।
शुक्रबार सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई ‘भाईमारा, मूर्तिचोर अनि सुन तस्कर र वंश विनास’ गर्ने को हो? भनेर प्रश्न गरेका हुन्।
000
महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका छन्।
रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए।
महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।
000
नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको घोषणा गरेका हुन्।
राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको बताउँदै आन्दोलन बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी पनि भएको उनको भनाइ थियाे।
000
सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गरेका छन्।
सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रिय सभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने गृहकार्य गरेको छ।
यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने कोइरालाको भनाइ छ।
गृह मन्त्रालयले पूर्व विशिष्टहरूका लागि आजीवन सुविधा दिने गरी विधेयक ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति लिएको भन्दै आलोचना भइरहेको छ।
000
आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारी सुरू भएको छ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ—आफ्ना कार्यक्रम तथा योजना बनाइरहेका छन्। सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको छ।
000
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
शुक्रबार सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो।
त्यसैगरी चाँदीकाे मूल्य २ हजार ५० प्रतिताेला पुगेकाे छ।
000
प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षकाे उमेरमा निधन भएकाे छ।
भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हाे।
नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन्।
क्षेत्रीलाई २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित पनि गरेको थियो।
000
युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएकाे छ।
शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो।
पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो।