पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘स्वागत’ गर्नेहरूको भीडमा योगी आदित्यनाथको तस्बिर देखाउने प्रदीप बिक्रम राणा यतिबेला भारतमा छन्। गत आइतबार ज्ञानेन्द्र पोखराबाट फर्किदैं थिए। राप्रपालगायत हिन्दुवादी पार्टी र संघसंस्थाले उनको स्वागतमा हजारौं मानिस जम्मा गरेका थिए।
त्यही भीडमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथको तस्बिर पनि देखियो र केही क्षणमै त्यो भाइरल बन्यो। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता अनि सामाजिक सञ्जालमा त त्यसका ठूलठूला हेडलाइन बने। भारतीय मिडियाहरूले पनि त्यसलाई खुब बढाइचढाईं गरे।
राजाको स्वागत र्यालीमा योगी आदित्यनाथलाई देखाउने व्यक्ति प्रदिपबिक्रम राणा भने अहिले भारत पुगेका छन्। त्यहाँका पत्रकारहरूसँग उनले आफू ‘गोरखपुरमा शरण’ परेको भनेका छन्।
त्यहाँका पत्रकारहरूले उनीसँग कुराकानी गरेका छन्। र केही भारतीय सञ्चारमाध्यमले उनका बारेमा समाचारहरू पनि लेखेका छन्। योगी आदित्यनाथको तस्बिरमुनि उनले आफूलाई ‘हिन्दुवादी’ भनेर आफ्नो नाम लेखेका छन्।
भारत पुगेका राणाले नेपालमा आफूलाई प्रहरीले दु:ख दिन थालेको भन्दै भागेको बताएका छन्।
‘त्यहाँ आदित्यनाथको तस्बिर देखाउनु मेरा लागि निकै भारी भएको छ। मानिसहरूले मरो आलोचना गरिरहेका छन् र प्रहरीले पनि मलाई खोजिरहेको छ,’ उनले भनेका छन्, ‘त्यही भएर म अहिले भारतको शरणमा आइपुगेको छु।’
राजावादीको जुलुशमा विदेशी नेताको तस्बिर देखाइएको भन्दै नेपालमा भने त्यसको आलोचना भइरहेको छ। सबै राजनीतिक दलहरूले त्यसको आलोचना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘योगी आदित्यनाथको तस्बिरै बोक्नुपर्ने अवस्थामा देश नरहेको भन्दै’ त्यसप्रति रोष पोखेका छन्। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीकै निर्देशनमा योगीको तस्बिर देखाएको भनेर फेसबुकमा लेखेपछि एमाले नेता बिष्णु रिमालले त्यसको कडा प्रतिवाद गरेका थिए।
योगी आदित्यनाथको तस्बिर बोक्ने राणा आफूलाई राजावादी भएको बताउँछन्। उनी काठमाडौं निवासी हुन्। यहाँका रैथाने र सम्पन्न परिवारका उनको पिता नेपाली सेनामा थिए।
राजावादी आन्दोलन वा राजसंस्था चाहने राप्रपाभित्रैको राजनीतिमा उनको लामो साइनो भने देखिन्न। २०७३ सालमा भएको राप्रपाको अधिवेशनमा उनी कमल थापाविरुद्ध उम्मेदवारी दिएका थिए। त्यसमा निकै फराकिलो मतले पराजित भएपछि केही सहयोगीहरूको साथमा उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए र त्यहाँ उनले कमल थापाले सबै पार्टी कब्जा गरेको आरोप लगाएका थिए। त्यसयता उनी पार्टीको राजनीतिमा खासै सक्रिय देखिन्नन्। तर केही समययता बढ्दै गइरहेको राजावादीको आन्दोलनमा भने उनी देखिइरहेका हुन्थे।
५८ वर्षीय राणाले अहिलेसम्म योगी आदित्यनाथलाई भने भेटेका छैनन्। तर आफूले योगीलाई आदर्श व्यक्तिका रुपमा लिने गरेको उनी बताउँछन्। योगीको तस्बिर देखाउँदा नेपालमा आफूलाई ज्यानको खतरा भएको भन्दै राणा आफूले भारतमा शरण परेको बताएका छन्।
‘नेपालमा राजसंस्था नफर्किएसम्म म अन्तिम साससम्म पनि लडिरहन्छु’ गोखरपुरमा भारतीय पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका छन् ‘योगी आदित्यनाथको तस्बिर देखाएपछि अहिले नेपालमा मलाई ज्यानको खतरा छ। त्यसैले अब अहिलेको सरकार नढलेसम्म म नेपाल फर्किन्नँ।’