आफ्नो कुर्सी लिएरै बिदा भए ट्रुडो

Break n Links
Break n Links

सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर र त्यसका केही छोटा भिडिओ क्लीपहरू भाइरल भएका छन्। त्यो हो, क्यानडाका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले कुर्सी बोकेर बाहिरिदैं गरेको दृश्य।

आफ्नै पार्टीमा विश्वासको मत सामना गर्न नसकेपछि गत जनवरीमा उनले राजीनामा दिएर काम चलाउ प्रधानमन्त्रीका रुपमा थिए। तर सोमबार त्यहाँको लिवरल पार्टीले उनको ठाउँमा मार्क कार्नीलाई चयन गर्‍यो। अब क्यानडाको प्रधानमन्त्री कार्नी हुनेछन्। उनी राजनीतिज्ञ होइनन्। संसारभरि उनी एक सफल अर्थशास्त्रीका रुपमा चिनिन्छन्। 

त्यसपछि कार्नीको स्वागत र ट्रुडोको विदाईमा संसदमा विशेष समारोह राखिएको थियो। त्यहाँ ट्रुडोले आफ्नो विदाई मन्तव्य पनि दिए। 

आफ्नो विदाई भाषणका बेला उनी केही भावुक पनि भए। भाषण गर्दै गर्दा उनले पटक पटक आँशु पुछेका तस्वीर र भिडिओहरू पनि सामाजिक सञ्जालमा छन्। 

‘क्यानडामाथि अहिले एकपछि अर्को गर्दै संकट र अप्ठ्याराहरू थपिइरहेका छन्। मैले नेतृत्व गरेका १० वर्षहरू पनि निकै चुनौतीपूर्ण थिए’ उनले विदाई भाषणमा भनेका थिए ‘तर हरेक संकटका बेलामा क्यानेडियनहरूले हामी को हौं र के हौं भनेर देखाएका छन्। हामी जहिल्यै एक भएर उभिएका छौं।’ 

"यी विगतका वर्षहरूमा, विगत १० वर्षहरूमा, चुनौतीहरू थिए। क्यानेडियनहरूमाथि एकपछि अर्को संकट आइपरेको छ," उनले भने। "तर हरेक संकटबाट, क्यानेडियनहरूले आफू को हुँ भनेर देखाएका छन्। हामी एकताबद्ध भएका छौं, हामी एकअर्काको लागि उभिएका छौं र हरेक पटक, हामी बलियो भएर उभिएका छौं।"

पछिल्ला केही समय क्यानडा र अमेरिकाबीच तनाव चुलिएको छ। कहिले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाइदिन्छौं भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिइरहेका छन्। केही दिनअघि अमेरिकाले क्यानडाका उत्पादनमाथि चर्को कर लगाइदिएको थियो। तर अहिले उसले अस्थायीरुपमा क्यानडामाथिको कर रोकेको छ। 

ट्रुडोले आफू र आफ्नो सरकारले सधैं क्यानेडियनहरूलाई नै पहिलो स्थानमा राखेको भन्दै सरकारले भविष्यमा पनि कहिल्यै क्यानडेली जनतालाई निराश नपार्ने बताएका थिए। 

विदाई भाषण सकेपछि उनी आफ्नो कुर्सी बोकेर बाहिरिँदै थिए। त्यही बेला पत्रकारहरूले तस्वीर र भिडिओ खिच्न थालेपछि उनीले जिब्रो निकालेर अलि लजाएजस्तो गरे। 

यहाँको संसदीय परम्पराअनुसार कुनै शीर्ष व्यक्तिको पद सकिएपछि उनले आफू बसेको कुर्सी लिएर जानसक्छन्। र उनीहरूले त्यसमा गर्व पनि गर्छन्। ५१ वर्षीय ट्रुडोले यही कुर्सीमा बसेर १० वर्ष क्यानडाको प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। 
 

प्रकाशित मिति: : 2025-03-12 10:36:00

प्रतिकृया दिनुहोस्