प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन्।
सोमबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताउँदै राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव पनि दिएका थिए।
000
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिको संसद बैठकमा सम्बोधन गर्ने भएका छन्।
सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा समय निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
000
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार चार विधेयक प्रमाणित गरेका छन्।
अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, विद्युतीय व्यापार विधेयक, विधायन सम्बन्धी विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रभाणित भएका हुन्।
संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले दुवै सदनबाट पारित भएका विधेयक प्रमाणित गरी संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्ने कानुनी व्यवस्था छ ।
000
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको बताएका छन्।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताएका हुन्।
त्यसैगरी उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खोजेको
भन्ने आरोपको खण्डन गरेका थिए।
000
नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन्।
उनले सरकारले नै निर्णय गरेर शाहलाई नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिएका थिए।
000
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ।
आइतबार पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्ने क्रममा एयरपोर्ट क्षेत्रमा फोहोरमैला गर्दै वातावरण प्रदुषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो।
महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगरको कार्यालय कमलादीमा पुगेर जरिवाना तिरेका हुन्।
000
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरू भएको छ।
बिरामीको बढ्दोलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा अप्रेसेन सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए।
उनका अनुसार अहिले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अप्रेसन दुई सिफ्टमा गर्न थालिएको छ।
अन्य अप्रेसन पनि दुई सिफ्टमा गर्ने गरी तयारी भइरहेको उनले बताएका थिए।
000
किरण ठगुन्नाको शतकसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। पहिलो खेलमा कर्णाली प्रदेशसँग उनाअस्सी रनले सुदूर पराजित भएको थियो।
गण्डकीले प्रस्तुत गरेको २ सय २१ रनको लक्ष्य पछ्याएको सुदूरले तिरचालिस ओभरमा चार विकेट गुमाउँदै २ सय २२ रन बनायो।