प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको जिकिर गरेका हुन्।
मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको उनकाे भनाइ थियाे।
000
अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ८ नेपालीलाई स्वदेश फर्काइएको छ। अमेरिकाले विमान चार्टर गरेर ७ पुरूषसहित एक महिलालाई स्वदेश फर्काएको हो।
उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकाे थियाे।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएकाहरूलाई निस्कासन गर्दै आएको छ। यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ।
000
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको सहमतिबिना भूमिसम्बन्धी अध्यादेश अघि नबढ्ने ब्रिफिङ गरेका छन्।
बुधबारको पार्टी संसदीय दल बैठकमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गत आइतबार बालुवाटारमा भएको छलफलबारे ब्रिफिङ गरेका हुन्।
सरकारले सहकारीसहिच पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेस गरेको छ भने भूमिसम्बन्धी अध्यादेश निर्णयार्थ पेस भएको छैन।
जसपा नेपालले सहकारीसहित सरकारले ल्याएका पाँच अध्यादेश स्वीकार गर्ने निर्णयसमेत गरेको छ। तर भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने उसको माग छ।
000
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन्।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो।
उनीबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो। धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्
000
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार निलम्बनमा परेका छन् । विश्वविद्यालयको सिनेटले उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुरलाई निलम्बन गरेको हो।
सिनेटको बहुमतले महतो र यादवलाई निलम्बन गरेको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन्।
विश्वविद्यालयको नीति विपरीत अनधिकृत काम गरेको भन्दै महतो र ठाकुरविरुद्ध उजुरी परेको थियो।
000
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको बताएका हुन्।
अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको उनकाे जिकिर थियाे।
000
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्।
तनहुँको डुम्रेमा आजदेखि सुरु भएकाे डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताएका हुन्।
नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने समेत उनले उल्लेख गरेका थिए।
000
काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ। राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले बुधबार बृहत जनप्रदर्शन गरेको हो।
राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरूसहित राजा समर्थकहरू सडकमा ओर्लिएका थिए। प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको राप्रपाले जनाएको छ।
000
युगान्डामा हुने चारदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले बुधबार टोलीको विदाइ गरेका हुन्।
युगान्डामा नेपाली टोलीले आयोजकसँगै नामिबिया र हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। वुमन्स डे कप मार्च ८ देखि सुरु हुँदै छ।