अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ।
विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै मागदाबीअनुसार सजायको मागसहित अख्तियारले पुनरावेदन दिएको हाे।
अख्तियारले दोषी ठहर गर्दै प्रतिवादी बनाएका व्यक्तिलाई उन्मुक्ति दिएपछि आयोग सर्वोच्चमा पुगेको हो।
विशेष अदालतले अख्तियारका प्रतिवादी तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीलगायतलाई सफाइ दिएको थियो।
000
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने लहर चलेकाे बताएका हुन्।
राम्रो काम गर्नेहरूई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको उनकाे टिप्पणी थियाे।
000
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर काण्डमा रेशम चौधरीलाई फसाउन जालझेल भएको दाबी गरेका छन्।
कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले टीकापुर काण्डलाई आफूले संघर्षको रुपमा सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगेको खुलासा गरेका हुन।
000
जनयुद्ध दिवसमा बिदा दिने जनप्रतिनिधविरूद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।
नेपाली काङ्ग्रेसका नेताद्वय कुलबहादुर गुरूङ र विनयध्वज चन्द तथा द्वन्द्वपीडितहरूले सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन्। रिटको पेसी फागुन २६ गतेका लागि तोकिएको छ।
जनयुद्ध दिवसको अवसरमा मुलकभर बिदा दिने भन्दै सरकारले विसं २०७९ माघ २९ र २०८० फागुनमा बिदा दिने भन्दै राजपत्रमा सूचना प्रकाशित भएको थियो। तर, सर्वोच्चले त्यसलाई बदर गरिदिएको थियो।
000
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन्।
बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन्।
सरकारले जारी गरेका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडि बढाउन सत्तारुढ दलहरूबिच सहमति भएको छ।
000
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन्।
मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका हुन्।
बामपन्थी एकता आजको आवश्यकता रहेकाे उनकाे भनाइ थियाे।
000
थापाथलीमा मंगलबार बिहान मेलम्ची खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको हो।
पाइप फुटेको केही समयमै बन्द गर्न सफल भएकोले धेरै पानी खेर जान नपाएको केयुकेएलले जनाएको छ।
पाइप लाइन किन फुट्यो भन्ने पत्ता लागिसकेको छैन। त्यसबारे अध्ययन भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।
000
पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन्।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो।
आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ। तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ।
ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ।
000
अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ।
युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग राेक्ने अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले खुलासा गरेकाे हाे।
यद्यपि यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।